१० साउन, काठमाडौं । संविधानको पहिलो मस्यौदामा जनताले दिएको सुझाव र असन्तुष्ट पक्षका माग एवं मुद्दालाई समेट्नका लागि १६ बुँदे सहमति गरेका चार दलबीच आज पनि छलफल भएको छ। जनताको सुझाव संकलनपछि चार दलका शीर्ष नेताहरु शुक्रबारदेखि निरन्तर छलफलमा छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान बसेको बैठकमा असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने तथा संविधान निर्माणको कार्यतालिकामाथि छलफल भएको थियो ।

बालुवाटार बैठकमा जनताबाट आएका सुझावलाई कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए। खासगरी धर्मनिरपेक्षताको विरुद्धमा व्यापक जनमत आएकोले त्यसलाई मस्यौदामा सम्बोधन गर्नुपर्ने निश्कर्षमा दलहरु पुगेका छन्। तर कस्तो व्यवस्था वा शब्दावली समावेश गर्ने भन्ने बारेमा अझै स्पष्ट सहमति भइसकेको छैन। धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता, बहुधार्मिक मुलुक, हिन्दु राज्य जस्ता विभिन्न सुझाव आएका छन्।
त्यसैगरी प्रदेशको संख्या, सिमांकन र नामांकनका विषयमा पनि दलहरुले फेरी सोच्ने भएका छन्। संभव भएर मोटामोटी सिमांकनसहितको संविधान ल्याउनुपर्ने धारणा चार दलले बनाएका छन् । अधिक जनताले सिमांकनको टुंगो लगाएर संविधान ल्याउनुपर्ने सुझाव दिएका छन्।











