१० साउन, दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल संस्कृत विश्वविद्यालयमा भएको अनियमितता त्यहाँ कार्यरत प्राध्यापक र कर्मचारीबाटै भएको ठहर गरेको छ । अख्तियारले विश्वविद्यालयका का १ सय २२ प्राध्यापक कर्मचारीलाई यातायात र भ्रमण भत्ता बापत बुझेको १७ लाख ४१ हजार ५ सय ५ रुपैयाँ फिर्ता गर्न निर्देशन समेत दिएको छ।

अख्तियारले विश्वविद्यालयलाई पत्र लेखी प्राध्यापक संघ र कर्मचारी संघका केन्द्रीय अधिवेशन तथा बैठकमा जाँदा लिएको उक्त रकम फिर्ता गर्न आदेश दिएको हो।
सात दिनभित्र विश्वविद्यालयको खातामा रकम जम्मा गरी सक्कल भौचर पेस गर्न आदेश दिएको अख्तियार स्रोतले जनाएको छ। भ्रमण भत्ता बापत एक प्राध्यापक तथा कर्मचारीले ९६ हजार रुपैयाँसम्म लिएको स्रोतले बतायो। अख्तियारको पत्रमा १ हजार १ सय ५० रुपैयाँदेखि ९६ हजार रुपैयाँसम्म भत्ता लिने कर्मचारीको सूची छ। सूचीअनुसारका प्राध्यापक कर्मचारीलाई परिपत्र गरी रकम असुल गरिने विश्वविद्यालय स्रोतले जानकारी दिएको छ।
कर्मचारी संघको अधिवेशन र बैठकमा विश्वविद्यालयको लाखौं रकम खर्च हुने गरेको समेत अख्तियारले जनाएको छ । विश्वविद्यालयमा व्यापक भ्रष्ट्राचार भएको उजुरीका आधारमा अख्तियारले विगत केही महिनादेखि छानविन गरिरहेको थियो ।











