९ साउन, काठमाडौं । विहीबार नेपाल बन्दमा संलग्न विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएको छ । विहीबार पक्राउ परेकामध्ये केही कार्यकर्तालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको हो । काठमाडौं उपत्यकाभित्र मात्रै १६ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसरी मुद्दा चलाउने तयारी गरिएका कार्यकर्ताहरुलाई महाराजगंज, तिनकुने, कमलपोखरी लगायतका प्रहरी चौकीमा राखिएको छ ।

तर राजनीतिक गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई सार्वजनिक अपराध गरेको अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै विप्लव माओवादीले विरोध गरेको छ । विरोधमा माओवादी नेता तथा कार्यकर्ताले प्रहरी चौकीमै धर्ना दिएका छन् । तिनकुने प्रहरी चौकीमा धर्ना दिएर विरोध गरिरहेका एमाओवादी नेता तथा पूर्वसभासद् तिलक परियारले लोकतन्त्रमा विरोध गर्न पाउनुपर्ने अधिकार हुँदाहुँदै आफ्ना कार्यकर्तालाई फसाउने नियत राज्यले राखेको नेपाल देश डट कमलाई बताए । विहीबार प्रहरीले पक्राउ गरेका कसैलाई छाड्ने र सँगै समातेका कतिपयलाई मुद्दा चलाउनु विभेदकारी भएकोले आफूहरु पनि घर नजाने चेतावनी परियारले दिए । राजनीतिक विषयलाई अन्य किसिमको मुद्दा चलाउन खोजेर राज्यले आफूहरुमाथि दमन गर्न खोजेको तर्क उनले गरे ।
मुद्दा चलाउन लागेका कार्यकता रिहा नभएसम्म आफूहरुले धर्ना दिइरहने चेतावनी परियारले दिए । कार्यकर्तालाई प्रहरीले जबर्जस्ती फसाउन खोजेको आरोप अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले लगाए । बन्द गराउन हिंडेका कार्यकर्तालाई पेट्रोल बोकेर हिंडेको भनी प्रहरीले फसाएको र आफूहरु विरोधमा उत्रने रसाइलीले चेतावनी दिए ।
प्रहरीले भने मिनरल वाटरको बोतलमा पेट्रोल बोकेर हिंडेका अवस्थामा कार्यकर्ता पक्राउ गरिएको जनाएको छ । विप्लव माओवादीका कार्यकर्ताले विहीबारको नेपाल बन्दमा सवारी साधनमाथि आगजनी समेत गरेका थिए ।











