८ साउन, काठमाडौं । प्रमुख चार दलले कार्यतालिका अनुसार साउन मसन्तभित्रै नै संविधान जारी गर्ने सहमति गरेका छन् ।
संविधानको मस्यौदामा जनताबाट आएका सुझावलाई दलहरुले आफ्नो अनुकुल ब्याख्या गरिरहेका बेला चार दलले संविधानसभाले बनाएको योजना अनुसार नै अघि बढ्ने सहमति गरेका छन् । ‘जनताबाट आएका उचित बुझावलाई समेटेर साउन मसान्तभित्रै संविधान जारी गर्ने सहमति भएको छ’ कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने ।
बालुवाटारमा बसेको प्रमुख चार दलले संविधानको मस्यौदामा जनमत संकलन ऐतिहासिक भएको निष्कर्ष निकालेका छन् ।
बैठकमा एमाओवादीले संविधानको मस्यौदामा जनताबाट आएको सुझावलाई सम्बोधन गरेर जानु पर्ने बताएको थियो ।
सत्तारुढ कांग्रेस र एमालेले भने संविधान निर्माण र बजेटलाई एकसाथ अघि बढाउनु पर्ने प्रस्ताव राखेको थियो । तर, माओवादीले संसदमा आफूहरु प्रतिपक्षी भएको भन्दै बजेटलाई नजोड्न आग्रह गरेका छन् ।
जनताबारे आएको सुझावबारे गम्भीर छलफल आवश्यक पर्ने भएकाले भोलिबाट थाल्ने सहमति भएको एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए ।











