८ साउन, काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण शुक्रबार देशभरको जनजीवन प्रभावित भएको छ । प्रहरीले राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारे पनि ठाउँठाउँमा सवारी साधन तोडफोड भएका छन् भने फाटफुट रुपमा मात्रै निजी सवारी साधन सडकमा गुडेका छन् ।
माओवादीले आजको बन्दा सफल पार्न विभिन्न चोक र आर्कको नेतृत्व गर्न पठाएका कतिपय नेता कार्यकतालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
बन्दकर्ताहरुले कलंकी, नयाँ वसपार्क लगायतका क्षेत्रमा यातायात अवरोध गरेका कारण राजधानी बाहिर जाने सवारी साधन चल्न सकेका छैनन् । बन्दकर्ताले शुक्रवार विहान महाराजगञ्ज चोकमा डिलक्स बस तोडफोड गरिदिएका छन् । राजधानीबाहिर पनि विभिन्न स्थानमा सवारी साधन तोडफोड भएका खबर प्राप्त भएका छन् । विराटनगरमा पनि बन्दकर्ता र प्रहरीबीच विहानैदेखि झडप भएको त्यहाँका पत्रकार अभय राईले जानकारी दिएका छन् ।
बन्द गराउँदै हिड्ने क्रममा माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
परियारलाई बानेश्वरबाट र रसाइलीलाई कोटेश्वरबाट पक्राउ गरिएको अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले बताए ।











