७ साउन, काठमाडौं । केही दिनअघि एमाओवादी नेता लोकेन्द्र विष्टले पार्टीबाट राजिनामा दिएको खुलासा भएपछि एमाले सभासद्ले चलाएको एक दैनिकमा एमाओवादीका आधा दर्जन नेताले राजिनामा दिएको समाचार प्रकाशित भयो । त्यसैको अर्को दिन एमाले समर्थक एक अनलाइनले एमाओवादी नेता धमाधम पार्टी छाड्दै गरेको र राजिनामा नदिएकाले क्रमैसँग राजिनामा दिने भन्ने वाक्यांश राखेर समाचार प्रसारण गर्यो । हेमन्तप्रकाश ओली, ध्रुव पराजुली, लेखराज भट्ट र गोपाल किराँतीले पार्टीबाट राजिनामा दिएको भन्दै एमाले निकट संचारमाध्यमले मसला बनाइरहेका छन् ।
के वास्तविकता त्यही हो त ? स्थायी कमिटी सदस्य गोपाल किरातीले नेपाल देश डट कमसँग भने – ‘खोई मलाई नै थाहा नभएको मेरो राजिनामा कस्ले दियो । सबैतिरबाट फोन आएर हैरान भएको छु । मैले पार्टीको कुनै तहमा पनि राजिनामा दिएको छैन । मैले अति नै धेरै फोन आएपछि फेसबुकमा त्यो दुष्प्रचार हो भनी लेखेको छु ।’
वैदेशिक रोजगारीमा पठाउँदा शून्य लागत कायमको विरोध गरेका एमाले सभासद्को पत्रिका त्यतातिर असफल भएपछि एमाओवादीको विषयतिर लागेको त्यहीँ कार्यरत एक पत्रकार बताउँछन् ।
तर अर्कोतर्फ भित्री रुपमा भने केपी ओली र प्रचण्ड पार्टी एकीकरणको योजना बुनिरहेका छन् । शान्ति प्रक्रियामा माओवादी आएदेखि नै प्रचण्डले बारम्बार कम्युनिस्ट एकीकरणको कुरा गर्दै आएका छन् । पछिल्लो पराजयले उनलाई कम्युनिस्ट एकताको आवश्यकता झनै महसुस भएको बुझिन्छ ।
त्यसको ज्वलन्त अभिव्यक्ति उनले दिल्ली भ्रमणमा गएर दिएका छन् । दिल्लीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले सबै कम्युनिस्टको एकता गरेर आत्मकथा लेख्छु भनेका थिए । ओली र प्रचण्डको पछिल्लो रहस्यमय निकटताले दुई पार्टीबीच एकताको पहल गर्नेसम्मको कसरत भएको विश्लेषण हुन थालेको छ । एमाओवादी नेता गोपाल किराती पनि यो कुरालाई स्वीकार्छन् ।
अहिलेकै परिस्थिति अगाडि बढे छिट्टै नै दुई पार्टीबीच एकीकरण हुने दावी समेत किरातीले नेपाल देश डट कमसँग गरे । दुई नेताबीच एकीकरणका सवालमा समेत कुराकानी भैरहेको उनले बताए । एमाओवादीको पछिल्लो दस्तावेज र एमालेको पछिल्लो महाधिवेशनले पारित गरेको दस्तावेजबीच खासै भिन्नता नरहेकोले दुई पार्टी सैद्धान्तिक रुपले एक हुन सक्ने दावी समेत किरातीको छ ।
तर दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता हुन नेपालमा त्यति सजिलो नभएको विश्लेषकहरु बताउँछन् । आन्तरिक कारण र भारतीय हस्तक्षेपका कारण नेपालमा कम्युनिस्ट बलियो हुन नदिने अवस्था रहेको उनीहरु बताउँछन् । एमाले नेता वेदुराम भुसाल भारतकै अनिच्छा पनि पार्टी एकीकरणको बाधक बन्ने बताउँछन् ।
एमाले र एमाओवादीबीचको एकताका आधार तय नभई दुई अध्यक्षबीचको स्वार्थमा मात्र केन्द्रित भएर पार्टी एकता हुन नसक्ने भुसालको भनाइ छ । दुई अध्यक्षको ईच्छा र स्वार्थका लागि मात्र पार्टी एकीकरण हुन नसक्ने त्यसका लागि दुवै पार्टीमा सैद्धान्तिक बहस हुन आवश्यक रहेको उनले बताए । पार्टीहरुबीचको सैद्धान्तिक आधार हेर्दा एमाले, एमाओवादी र मोहन वैद्य नेतृत्वको माओवादीबीच खासै भिन्नता नरहेको भुसालको विश्लेषण छ ।
एमाले र एमाओवादीबीच एकअर्काका नेता कार्यकर्ता चोर्ने कसरत पहिलेदेखि नै चल्दै आएको छ । यो अवस्थामै कहिले एउटा पार्टी ठूलो बन्ने र कहिले अर्को पार्टी ठूलो बन्ने प्रक्रिया छ । यही अवस्थाबाट कम्युनिस्टको सिद्धान्त स्थापित नहुने भन्दै ओली र प्रचण्ड एकीकरणको तयारीमा जुटिरहेको स्रोत बताउँछ । एकीकरण भए ठूलो पार्टीका हैसियतले ओलीलाई नै अध्यक्ष बनाउन समेत सकिने मनस्थिति एमाओवादी नेतृत्वको भएको गोप्य स्रोत बताउँछ । तर, दुई अध्यक्षबीच प्रधानमन्त्री र राष्ट्रपति बन्ने व्यक्तिगत ईच्छाले पार्टी एकीकरणको कुरा भएको भए त्यो सफल नहुने र उनीहरुको व्यक्तिगत ईच्छा समेत पूरा नहुने तिनै दलका नेता तथा कार्यकताको चेतावनी छ ।












