७ असार, काठमाडौं । सुझाव संकलन सकेर राजधानी फर्किएका सभासद्हरु अहिले जिल्लामा संकलित सुझावलाई एकीकृत गर्न व्यस्त छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सभासदहरु एक ठाउँमा भेला भएर जनताले दिएका सुझावहरुलाई व्यवस्थित गर्दै छन् । सभासद्हरुले विवरण व्यवस्थित गर्दै प्रतिवेदन तयार पार्न लागेका कारण आज सिंहदरबारमा ठूलै चहलपहल छ ।
प्रतिवेदन तयार पार्नका लागि आफूहरुका तर्फबाट सुझावलाई व्यवस्थित गर्न लागिएको जानकारी एमालेका सचेतक गोकुल घर्तीले नेपाल देश डट कमलाई दिए । रोल्पाका सभासद्हरु ओनसरी घर्ती, कृष्णबहादुर महरा र आफू बसेर रोल्पाका सबै सुझाव एकीकृत गर्दै समितिमा पठाउन आफू व्यवस्त भएको सचेतक घर्तीले बताए ।
सुझाव संकलनको जिम्मा पाएको संविधान सभाको समितिले जनमत संकलन भएको पाँच दिनभित्र प्रतिवेदन बुझाउने र हरेक जिल्लाको एउटा प्रतिवेदन तयार पार्ने जानकारी समितिले दिइसकेको छ ।











