६ साउन, काठमाडौं । विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडीमा आगजनी गरेका छन् । विद्यार्थीहरुले आज बिहानै कीर्तिपुर नजिकै गाडी जलाएका हुन् ।
नेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको दावी गर्दै उनीहरुले गाडी जलाएका हुन् । विद्यार्थी नेताहरुले हालसम्म उक्त स्कुल विना दर्ता संचालन भएको दावी गरे । उनीहरुले उक्त स्कुलले कञ्चनजंघा हिमाल भारतमा पर्छ भनि लेखिएको पाठ्यक्रम पढाएको, भारतीय झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनि विद्यार्थीलाई पढाउने गरेको, भारतीय राष्ट्रिय गान अनिवार्य गाउन बाध्य पारिएको आरोप पनि लगाएका छन् ।
गाडी जलाएपछि उनीहरुले जारी गरेको विज्ञप्तीमा बाग्मती नदी, सामुदायिक वन र मन्दिरको ७० रोपनी जग्गा हडपेर विद्यालय संचालन गरेको पनि आरोप लगाएका छन् ।
यसैबीच सो विद्यार्थी संगठनले आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र शिक्षा मन्त्रालयललाई बुझाएको छ । नेपालमा दर्ता नभई संचालन भएका विद्यालयहरु बन्द हुनुपर्ने कक्षा ११ र १२ मा दश प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको संगठनका अध्यक्ष शरद रसाइलीले नेपाल देश डट कमलाई जानकारी दिए । भारतीय दुतावास भित्र संचालित केन्द्रय विद्यालयबाहेकका भारतीय विद्यालयहरु नेपालमा कतै पनि दर्ता नभएको उनले दावी गरे । आफूहरुका छ बुँदे माग रहेको रसाइलीले बताए ।













