५ साउन, काठमाडौं । नयाँ संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन आज दोस्रो दिन पनि देशभर भैरहेको छ । सुझाव संकलनका क्रममा काठमाडौंमा राप्रपा नेपाल र तरा
ईमा असन्तुपट मधेसी दलका कार्यकर्ताले अवरोध पुर्याउन खोजेका छन् । काठमाडौंको बानेश्वर ब्याङ्केटमा काठमाडौं क्षेत्र नं १ को संविधान मस्यौदाको सुझाव संकलन भइहरेको बेला राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ । राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रमस्थलमा प्रहरीले छिर्न नदिएपछि झडप भएको हो ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन भइरहेको छ। सुझाव दिने सर्वसाधारणको समेत त्यहाँ उल्लेखनीय सहभागिता छ । कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरेका छन् ।
तराईको विभिन्न जिल्लामा आज पनि असन्तुष्ट मधेसी दलका कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् । कतिपय स्थानमा यातायात समेत अबरुद्ध छ । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा समेत यातायात संचालनमा अवरोध गरेका छन् । रुपन्देही, रौतहट, पर्सा लगायतका जिल्लामा पनि सुझाव संकलनमा अवरोधको प्रयास मधेसी दलका कार्यकर्ताले गरेका छन् । यद्यपि सुझाव संकलन भने सुचारु भैरहेको हाम्रा स्थानीय संवाददाताले दिएका छन् ।











