पर्साबाट नरेश सर्राफ/रौतहटबाट दीपेश पौडेल/रुपन्देहीबाट कन्हई यादव
४ साउन, तराई । असन्तुष्ट मधेसी दलहरुले संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रम विथोल्ने प्रयास गरेका छन् । मधेसी दलका कार्यकर्ताको प्रदर्शन र तोडफोडका कारण तराईका जिल्लाहरुमा स्थिति तनावग्रस्त बनेको । रौतहट, पर्सा, रुपन्देही लगायतका जिल्लामा मधेसी दलका कार्यकर्ताले तोडफोड तथा आगजनी गरेका छन् । पर्सा क्षेत्र नं ५ मा जनमत संकलनका लागि बनाइएको टेन्ट समेत मधेसी दलका कार्यकर्ताले जलाएका छन् । ठाउँठाउँमा कुर्ची हानाहान भएपछि प्रहरीले मस्यौदा बचाउन छाडेर सभासदहरुलाई सुरक्षा दिईरहेको छ ।
रौतहटको गौरमा जनताको राय सुझाव संकलनका लागि पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी कार्यक्रम नै बिथोलिएको छ ।
पूर्व प्रधानमन्त्री नेपाल सीमित कार्यकर्ताका साथ बिहान कार्यक्रममा सहभागी भएका थिए । सद्भावना पार्टी लगायतका मधेसवादी दलका नेता तथा कार्यकर्ताहरु सो कार्यक्रममा प्रवेश गर्न खोजेपछि झडप भएको हो । एमाले कार्यकर्ता र मधेसी दलका कार्यकर्ताबीच ढुंगा हानाहानसमेत भएको थियो ।
आक्रोसित मधेसकेन्द्रित दलका कार्यकर्ताले पूर्व प्रधानमन्त्री नेपालको सवारी साधनसमेत तोडफोड गरेका छन् । प्रहरीको कडा सुरक्षा घेराभित्र कार्यक्रमको औपचारिकता पूरा गर्दै पूर्व प्रधानमन्त्री नेपाल गौरबाट बाहिरिएका छन् ।
६० हजार मतदाता रहेको क्षेत्रमा संविधानको प्रारम्भिक मस्यौदामाथि २० जनाको मात्र राय सुझाव संकलन गर्ने परिधि तोकिएपछि मधेसवादी दलका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएको बताइएको छ ।
तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र ६ सेल टियरग्यास प्रहार गरेकोछ । वीरगंजमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले ढुङ्गामुडा प्रहार गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ ।
विरोधमा उत्रिएका कार्यकर्ताले विभिन्न स्थानमा संविधानको मस्यौदा समेत जलाएका छन् ।











