एकीकृत माओवादी नेता डा. बाबुरा भट्टराईले चार दलबीच भएको सहमतिअनुसार तयार पारिएको नयाँ संविधानको मस्यौदा र नयाँ संविधानमा राखिने व्यवस्थाको विरोध गरेका छन् । उनले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको विरोध गरेका छन् । नयाँ संविधानमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाउने सहमति एमाओवादीकै अडानमा भएको हो । सहमतिलाई एमाओवादी लगायत सबै दलले उपलब्धीका रुपमा लिएको अभिव्यक्ति दिएका बेला बाबुरामको यस्तो विरोध आउनुलाई रहस्यका रुपमा हेरिएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले भारतमा गएर सम्बन्ध सुधार गरेको हुनसक्ने आशंकामा बाबुरामले निहु खोज्नका लागि नयाँ बखेडा झिकेको विश्लेषकहरुको ठम्याइँ छ । बाबुरामको विरोध यस्तो छ :
हालैको एक अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपाल एशियाको दोश्रो सबभन्दा गरीब देश (अफगानिस्तान पछि) बनेको छ ।
त्यस्तै अहिलेको ३ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहेमा नेपाल अर्को ५० बर्षसम्म पनि यस्तै गरीब रहिरहनेछ।
अनि अहिलेकै जस्तो संसदीय शासन प्रणाली (त्यसमाथि मिश्रित निर्वाचन प्रणाली) कायम रहेमा देशमा कहिल्यै राजनीतिक स्थीरता रहने छैन र आर्थिक वृद्धिदर बढ्ने हैन बरु घट्नेछ ।
त्यसैले राजनीतिक स्थीरता र तीव्र आर्थिक विकासकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) रहने शासकीय प्रणाली नयाँ संविधानमा व्यवस्था गर्न सबैले आआफ्नो ठाउँबाट प्रयत्न गरौं !
पार्टी भन्दा माथि उठौं, छातीमा हात राखेर सोचौं !!












