१ असार, नवलपरासी । नवलपरासीको दाउन्ने स्थित पूर्वपश्चिम राजमार्गको उकालोमा शुक्रबार विहान भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
नारायणघाटबाट पश्चिम दाङ तर्फ जानका लागि दाउन्नेको उकालो चढ्दै गरेको ना ४ ख ५१४३ नम्बरको बस र पूर्वतर्फ आउदै गरेको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खादा घटना स्थलमा ६ जनाको मत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चार पुरुष र ५ महिला रहेकाछन् ।
दुर्घटनामा परी घाईते भएका मध्य उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै २ जना र उपचारको क्रममा अस्पतालमा १ जना मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङ त्रिभुवन नगरपालिका –२ का ४५ गोविन्द वस्नेत दाङ विजौरी–२ का ३२ बर्षका जिवन खड्का , नवलपरासी वर्दघाट –६ का ५० की माईली लामा नवलपरासी कावासोती–८ की २३ बर्षीय सुमित्रा लामा, सुमित्रा लामा र उनकी ७ महिनाकी छोरी अंशु लामा रहेकी छन् ।मृत्यु हुने मध्य चार जनाको शुक्रबार बेलुका सम्म सनाखत हुन नसकेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको जिप्रका नवलपरासीले जनाएको छ ।











