३१ असार, नयाँ दिल्ली । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्यूनिष्ट पार्टीहरुलाई एउटै छाता मुनी एकीकरण गरेपछि आफूले आत्मकथा लेख्ने बताएका छन ।
भारतको राजधानी नयाँ दिल्लीमा तिसरी दुनियाँ पत्रिकाले आयोजना गरेको कार्यक्रममा उनले नेपालका कम्यूनिष्टहरु सैद्धान्तिक रुपमा एकै ठाँउमा रहे पनि ब्यवहारगत रुपमा अलग अलग रहेकोले एकता सम्भव भएको बताए ।
उनले आफूलाई नेपालको कम्यूनिष्ट आन्दोलन विगारेको त कतै सम्झौता गरेको र कतै आफ्ना एजेण्डा छाडेको जस्ता आरोप लगाउने प्रति असन्तुष्टी ब्यक्त गर्दै सबै कुरालाई खुलस्त पार्न आत्मकथा लेख्ने बताएका हुन ।
प्रचण्डले आफूले मुलुकको हितकोलागि सधै दलगत स्वाथ त्यागेको दावी गर्दै शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्समा पुर्याउने केही त्याग गरेको बताए । यद्यपि उनले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख उल्लेख गरेकोले नेपालको संविधान साम्यबाद उन्मुख संविधान भएको दावी गरे । उनले भने–संविधान साम्यबाद उन्मुख भएकोछ, यस अर्थमा हामीले जितेका छौ ।
उनले लिपुलेक, नेपालको संविधान निर्माण प्रक्रिया र पुर्ननिर्माणको विषयमा भोली हुने भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँगको भेटवार्तामा छलफल गर्ने जानकारी समेत दिए ।











