काठमाडौं, ३० असार – नेकपा एमालेले बजेटमा अति कांग्रेसीकरण भएको भन्दै त्यसको विरोध गर्ने निश्कर्ष निकालेको छ । वुधबार बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले बजेटप्रति असन्तुष्टी व्यक्त गर्दै बजेट छलफलका क्रममा कांग्रेसीकरणको विरोध गर्न सभासदहरुलाई निर्देशन दिए ।
दलको बैठकमा अर्थबिद् एवं पूर्व गभर्नर डा. युवराज खतिवडा र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताहरुले बजेटको चिरफार गरेपछि अध्यक्ष ओलीले बजेट छलफलका क्रममा दलको बैठकमा उठेका विचारहरुकै आधारमा बोल्न र कांग्रेसीकरणको व्यापक विरोध गर्न निर्देशन दिएका हुन ।
अध्यक्ष ओलीले भुकम्पपछिको परिस्थितिमा बृहत्तर राष्ट्रिय सोच राखेर बजेट आउनु पर्नेमा पहिला भन्दा अझै पछाडि फर्कने गरी बजेट आएको बताए । बैठकमा ओलीसहितका नेता तथा सभासदहरुले अर्थमन्त्री महतले पूर्वाग्रह राखेर विगतको बजेटमा परेको पुष्पलाल मध्यपहाडी लोकमार्गको कार्यक्रमबाट यसपटक पुष्पलालको नाम हटाएको र जननेता मदन भण्डारीको नामको अपमान गरेकोमा आपत्ति जनाएका थिए ।
कांग्रेसका स्वर्गीय सभासद हरि खडकाको नाममा ट्रमा सेन्टरको घोषणसँगै चितवनमा मदन भण्डारीको नाममा ट्रमा सेन्टर खोल्ने घोषण गरेर कांग्रेसले मदनको अपमान गर्नुका साथै त्यो ट्रमा सेन्टरको स्तर घटाएको सभासदहरुको भनाई छ ।
बजेटले सामाजिक न्यायको क्षेत्रमा केही गरे जस्तो देखिए पनि उत्पादनमूलक क्षेत्रमा जोड दिन नसकेको र राष्ट्रिय गौरबका आयोजनाहरुलाई कम बजेट विनियोजन गरेकोमा पनि एमाले सभासदहरुले आवाज उठाएका थिए ।











