कांग्रेस सभापति सुशील कोइरालाका गृहजिल्लाका कार्यकर्ता ढकाललाई कांग्रेस नेतृत्वकै निर्देशनमा खासा पुर्याएको खुलासा भएको छ । नेपालगञ्जमा युवासंघका सदस्य चेतन मान्धरको हत्याका मुख्य योजनकार गुण्डाका नाइके रिगल ढकाललाई प्रहरीले भगाएर खासा पुर्याएको छ । उनले काठमाडौंमै बसेर चेतनको हत्या गराउन सफल भएसँगै प्रहरीले खोजीका लागि देशभर सर्कुलर गरेपछि एक प्रहरी अधिकृतले उनलाई खासा पुर्याएको खबर आएको छ ।
ढकाल काठमाडौँ स्वयम्भू क्षेत्रमा दुई सातादेखि बसेका थिए । उनले गत सोमबार नेपालगञ्जमा चेतनको हत्या गराउन सफल भए । आफू काठमाडौंमा भएपछि आरोप नआउने मास्टर प्लानिङमा रहेका ढकालले सहयोगी परिचालन गरेर चेतनको सफाया गराएको खुलेको छ ।
घटनास्थलबाटै हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएपछि घटनाको मुख्य योजनकार गुण्डाका नाइके ढकाल भएको खुलासा भएको थियो । हत्यामा संलग्नहरुले आफूहरु रिगल समूहको भएको वयान प्रहरीलाई दिएका थिए ।
प्रहरी अनुसन्धानमा ढकालको योजनामा हत्या भएको खुलासा भएपछि राजधानीमा रहेका उनलाई एक भ्रष्ट डिएसपीले खासा पुर्याएको समाचार स्रोतको दाबी छ । रिगललाई पक्राउ गर्न नेपालगञ्ज प्रहरीले देशभर सर्कुलर गरिसकेको छ ।
हत्यामा संलग्न ढकाल समूह र मारिएका मानन्धर दुवै नेपालगञ्जमा गुण्डागर्दीमै संलग्न समूहका सदस्य रहेको बताइएको छ । कुनै समय मानन्धर ढकालकै समूहकै सदस्य थिए ।१५ वर्षदेखि नेपालगञ्जमा गुण्डागर्दी गर्दै गैरकानुनी धन्दामा संलग्न ढकाललाई राजनीतिक दलका नेता र प्रहरीकै संरक्षण रहेको आरोप स्थानीय सर्वसाधारण र व्यापारीले लगाउँदै आएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको गृहजिल्लाका कार्यकर्ता भएकाले ढकाललाई कांग्रेस नेतृत्वले नै संरक्षण गरेको बुझिएको छ । कोइरालालाई निर्वाचन जिताउन लागि परेका ढकालको समूहलाई कोइरालाले नै संरक्षण दिएको आरोप समेत स्थानीयहरुले लगाएका छन् ।
किन मारिए मानन्धर ?
कुनै समय ढकाल समूहकै सदस्य रहेका मानन्धरसहित केही व्यक्ति पछिल्लो समय ग्याङबाट अलग भएर आफ्नै समूह खडा गरेका थिए । नेपालगञ्जमा एक ग्याङबाट दुई ग्याङको आपराधिक समूह सक्रिय भएको थियो ।
ढकालका लागि कुनै समय मरिमेट्ने मानन्धरसहित, कालु, सानु, मनोज, विकेशलगायतका व्यक्तिले मानन्धरको हप्ता असुल्ने ठाउँमा अवरोध पु¥याएर आपैm असुल्न थाले । जुन कुरा ढकाललाई मन परेन । ढकालले मानन्धरको समूहलाई थर्काउने, तर्साउने क्रियाकलाप गरे । तर संगठित भइसकेको मानन्धर समूह पछि हटेन । अन्ततः बीचबजारमै फिल्मी शैलीमा मारिए मानन्धर ।
लामो समयदेखि उनीहरुबीच चलेको टसल दुई साताअघि उत्कर्षमा पुगेको थियो । भारतको कालापहाड जानेका लागि नेपालगञ्जबाट छुट्ने करिब १ दर्जन बस ढकालकै नेतृत्वमा सञ्चालन हुँदै आएका छन्। भारतमा टुर एन्ड ट्राभलमा दर्ता भएका भारतीय बसमा नेपागञ्जदेखि नै यात्री पठाउँदा राम्रो आम्दानी हुन्छ । तर कमाईको सबै हिस्सा आफैँ राख्ने ढकालको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मानन्धरलगायतको समूहले विद्रोह गरेको थियो ।
सम्झाउँदा र धम्काउँदासमेत केही नलागेपछि भर्खरै संगठित हुँदै गरेको मानन्धरको समूहलाई आक्रमण गरेर ठेगान लगाउने सोचमा पुगेको थियो ढकाल समूह । जसका लागि करिब १० जना बाहिरका गुण्डा ढकाल समूहले दुई साताअघि नै नेपालगञ्ज झिकाएको थियो । रिगलको योजनामा करिब १४ जना आक्रमणमा संलग्न भएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने ७ पक्राउ परेपनि ढकालसहित अन्य फरार रहेको प्रहरीले बताएको छ ।
घटनाको सुरुवात
१५ दिन अगाडि चेतनको समूहले ढकालको बस काउन्टरमा गएर तोडफोड गर्दै लुटपाटको प्रयास गरे । जसबाट आगो भएका ढकालको समूहले मानन्धरकै साथी मनोज विकको घरमा तोडफोड गर्दै आक्रमण गरे । जसको उजुरी दिन मनोजको समूह जिल्ला प्रहरी कार्यालय पुगेको थियो । तर प्रहरीले सार्वजनिक मुद्दा दर्ता गर्न नै मानेन । प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर ढकालको समूहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको भए घटना नै नहुने एकथरीको बुझाइ छ ।
प्रहरीले दुवै समूहका गुण्डालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको भए जघन्य अपराधका घटना हुने थिएन । बस काउन्टरमा मानन्ध्र समूहले गरेको तोडफोडको बदला लिने ढकाल समूहले मिटिङ गर्ने भन्दै मानन्धरलाई सिद्धार्थ कटेजमा बोलाएर आक्रमण गरेको स्थानीयको भनाइ छ ।
राजनीतिक आवरणमा गुण्डागर्दी
ढकाल बाँके क्षेत्र नम्बर ३का नेपाल तरुण दलका अध्यक्ष हुन् । काँग्रेसको आडभरोसामा उनले एक दशकदेखि आपराधिक क्रियाकलाप संलग्न हुँदै आएका छन् । रिगलको क्रियाकलापको कारण पछिल्लो समय स्थानीय नेतृत्व पनि रुष्ट हुँदै गएका थिए । गुण्डागर्दी गरेर पार्टीको बदनाम गरेको भन्दै स्थानीय नेता–कार्यकर्ताको मनमा ढकालप्रति हीतनाबोध जागेको थियो ।
तरुण दलको जिल्ला अध्यक्ष त्यो पनि प्रधानमन्त्री एवम् पार्टी सभापतिको गृहजिल्लाको । उनको पद अपराधकर्मलाई दुरुत्साहन गर्ने आधार बन्यो । प्रधानमन्त्री गृहजिल्ला जाँदा वा त्यहाँबाट बाहिरिँदा हुने स्वागत र विदाइमा अग्रपंक्तिमा देखिने ढकाल साँच्चै नै राजनीतिकरुपमा शक्तिशाली हुन् भन्ने प्रहरीलाई भान हुनु अन्यथा पनि होइन । प्रहरीको कमजोरी यही रह्यो । जसको फाइदा उठाउँदै ढकालले अपराधकर्म गरिरहे ।











