३० असार, काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकारले कम्युस्टिको अपमान नै अपमान गरेको आरोप एमालेले लगाएको छ । सरकारले एमालेलाई थाहै नदिई बजेटमार्फत पुष्पलाल र मदन भण्डारीको अपमान गरेको एमालेले खुलासा गरेको हो । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले बजेटमा मदन भण्डारी र हरि खड्कालाई एकै श्रेणीमा राखेको भन्दै नेकपा एमालेले आपत्ति जनाए ।
आफूभन्दा अघि बोलेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मदन भण्डारी र हरि खड्का दुबै लोकप्रिय भएको भन्दै दुबै नेताको नाममा ट्रमा सेन्टर बनाउने बजेट घोषणाको स्वागत गरेका थिए ।
तर, पाण्डेले त्यसमा आपत्ति जनाए । उनले ‘रामचन्द्र पौडेल र गोल्छे सार्की एकै हुन् भन्न नमिल्ने भन्दै रामचन्द्र पौडेल सभामुख हुँदा गाल्छे सार्कीले पौडेललाई कुर्ची प्रहार गरेको घटना सम्झाए । । पाण्डले मदन भण्डारी र हरि खड्कालाई तुलना गर्ने रामचन्द्रलाई लाज लाग्नु पर्ने भन्दै टिप्पणी गर्दा एमाले सभासदहरुले टेबुल ठोकर समर्थन गरेका थिए ।
पूर्वअर्थमन्त्री पाण्डेले आफ्नो पालामा बजेट घोषणा गर्नुपूर्व कांग्रेसलाई पढ्न दिएको स्मरण गर्दै कांग्रेसले संयुक्त सरकारको संस्कार नदेखाएको खुलासा गरे ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको नाम हटाएर पुष्पलाल हटाएकोमा पाण्डेले आपत्ति जनाए ।
ज्येष्ठ नागरिकको भत्ता सुरुवात गर्ने मनमोहन अधिकारीको नाम कतै उल्लेख नगरिएको तर कार्यक्रमबाट हटिसकेको गरिबसँग विश्वेश्वरलाई फेरि घुसाइएको भन्दै पाण्डेले आक्रोस पोखेका थिए ।











