३० असार, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रुपमा बजेट ल्याएको भन्दै पारित हुन नदिने चेतावनी दिएको छ । जेट असन्तुलित र एकपक्षीय आएकाले त्यसलाई पारित गर्न नदिने अध्यक्ष केपी ओलीले चेतावनी दिएका हुन् । यसले कांग्रेस र एमालेबीचको सम्बन्धमा थप चिसोपना उत्पन्न भएको छ ।
कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम तयार पार्दासमेत कुनै सुँइको नदिएको जस्ता आरोप लगाएको छ । विपक्षी नेताहरूले विकास र पुनर्निर्माणका लागि फडको मार्न सक्ने पर्याप्त अवसर हुँदा पनि त्यस खालको बजेट नआएकामा असन्तुष्टि पोखेका छन् । उनीहरूले बजेटलाई परम्पराको गन्धबाट जोगाउन नसकेको भनी अर्थमन्त्री रामशरण महतको आलोचना गरे ।
सत्तारूढ एमाले स्वयंले एकलौटी ढंगले अर्थमन्त्रीले बजेट पेस गरेको भन्दै असन्तुष्टि राखेको छ । बजेट निर्माणमा आफ्ना मन्त्रीहरूसँग सल्लाह नगरेको भन्दै एमालेले बुधबार पार्टीको संसदीय दलको बैठक बोलाई यसबारे समीक्षा गरिने जनाएको छ ।
‘मन्त्रीहरूसँग सुझाव लिई बजेट ल्याइने प्रचलन थियो । यसपटक त्यो देखिएन,’ पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्रप्रसाद पाण्डेले बजेटमा कांग्रेसले एकलौटी गरेको दाबी गर्दै भने, ‘पार्टीका तर्फबाट दिइएका सुझावसमेत बजेटमा परेनन् ।’ उनले यसबारे आफ्नो पार्टीमा गम्भीर समीक्षा गरिने जानकारी दिए । पार्टीको तर्फबाट सहभागी मन्त्रीहरूको बजेट निर्माणमा भूमिका र अघिल्लो वर्ष छुट्टयाइएको बजेट खर्च समेतको मूल्यांकन गरिने पाण्डेले बताए ।
काठमाडौं–तराई द्रुतबाटो, निजगढ विमानस्थल आयोजनालाई बजेटमा उच्च प्राथमिकता दिई अघि बढाउनुपर्नेमा उचित ध्यान नदिइएको उनको प्रतिक्रिया थियो ।
पूर्वप्रधानमन्त्री एवं एमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराईले ठूलो अवसर हुँदा पनि सरकारले मुलुकको नवनिर्माण र विकासका लागि सुहाउँदो बजेट ल्याउनबाट चुकेको बताए ।
‘अहिले पनि परम्परागत ढंगले नै बजेट आएको छ । कछुवा गतिमा विकासमा फडको मार्न सकिने सरकारको सोचाइ छ । जुन गलत हो,’ अहिलेका चुनौती सामना गर्ने बजेट आउन नसकेको प्रतिक्रिया दिँदै भट्टराईले भने ।
‘महाविपत्तिले मुलुक क्षतविक्षत भएका बेला विकासका लागि उपर्युक्त बजेट ल्याउने अवसर थियो,’ उनले भने, ‘तर, त्यसलाई पूरा गर्ने खालका कार्यक्रम बजेटमा देखिएन ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि बजेट ‘सामान्य किसिमकै आएको’ प्रतिक्रिया दिए । अहिले ध्वस्त भौतिक संरचना र पूर्वाधार विकासका लागि जुन रूपमा बजेट आउनुपर्ने हो, त्यसमा अर्थमन्त्री महत चुकेको उनको टिप्पणी थियो । ‘साहसिक निर्णयसहितका कार्यक्रम अपेक्षा गरेको थिएँ, त्यो आएन,’ थापाले भने ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले अघिल्लो वर्षको भन्दा बजेट तुलनात्मक रूपमा सकारात्मक भए पनि संसदमा भएको छलफलअनुसार भने नआएको प्रतिक्रिया दिए ।











