२९ असार, काठमाडौं । आफ्नै पार्टीका नेताहरुलाई पैसा खुवाएर सभासद् बनेको भन्ने आरोप खेपेका नेविसंघ अध्यक्ष रञ्जित कर्णलाई पैसा काण्डकै कारण आफ्नै कार्यकर्ताले जुत्ताको माला र कालोमोसो लगाएका छन् । कर्णलाई मंगलबार विहान उनको निवासमा गएर नेविसंघका कार्यकर्ताले पैसा खाएर कमिटीहरु भंग गरेको भन्दै कालोमोसोका रुपमा कालो मसी र जुत्ताको माला लगाएका हन् । कर्णले जुत्ताको माला हत्तपत्त झिकेर हातमा लिएको तस्वीर समेत कार्यकर्ताले सार्वजनिक गरेका छन् ।
कर्णले भने उनीहरुले आफूसँग पैसा मागेको र आफूले दिन नसक्ने भनेपछि आक्रमण गरेको दावी गरे । तर, नेविसंघको असन्तुष्ट पक्षले भने कर्णले कार्यकर्ताबाट पैसा खाएको भन्दै विरोध जनाएका छन् ।
नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरेका थिए । कार्कीको ठाउँमा अध्यक्ष कर्णले भुवन भट्टको नेतृत्वका अर्को कमिटी बनाएका थिए ।
भट्टबाट पैसा खाएर कर्णले कार्कीको कमिटी भंग गरेको उनीमाथि असन्तुष्ट पक्षको आरोप छ । कर्णले अरु ठाउँमा पनी यसैगरी पैसा खाएर कमिटी भंग गर्ने र आफ्ना मान्छे ल्याउने गरेको आरोप आरोप असन्तुष्ट पक्षको छ । तिनै असन्तुष्ट कार्यकर्ताले कर्णलाई मोसो दलेका हुन् । कालोमोसो दल्नेमा नेविसंघकै कुन्दन काफ्ले पक्षधर रहेको बताइएको छ ।
आफूले आक्रमणकारीविरुद्ध प्रहरीमा जाहेरी दिएको सभासद कर्णले बताएका छन् । कर्णले आफ्ना प्रतिद्वन्दी नेविसंघ नेता कुन्दन काफ्लेको नाममा समेत प्रहरीमा उजुरी दिएका छन् । कालोमोसो दल्नेले हातमा रड लगायतका हतियार लिएको पनि कर्णले बताए ।
रञ्जित कर्ण समानुपातिक सभासद् बन्नका लागि दश लाख रुपैयाँ पार्टीका नेताहरुलाई दिएको आरोप नेविसंघभित्रकै कार्यकर्ताले लगाउँदै आएका छन् । यतिवेला कर्णले महाधिवेशनका लागि रकम संकलन गर्न कमिटीहरु भंग गर्ने गरेको नेविसंघकै कार्यकर्ता बताउँछन् ।











