२८ असार, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालका सभासदहरुले नयाँ संविधानको पहिलो मस्यौदामा जनमत संकलन बहिस्कार गर्ने भएका छन् । उसले जनमत संकलनलाई नाटकको संज्ञा दिएको छ ।
राप्रपा नेपाल संसदीय दलको सोमबार बसेको बैठकले पार्टीका सभासदहरु जनमत संकलनमा सहभागी नहुने निर्णय गरेको हो ।
संविधाानको मस्यौदा निर्माणका क्रममा संविधानसभालाई रबर स्टायम्पको रुपमा प्रयोग गरिएको, अन्तर्वस्तुहरुमा पर्याप्त छलफल गर्न नदिएको, नियमावली निलम्बन गरिएको तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गरिएको उसको आरोप छ ।
राप्रपा नेपालद्धारा जारी विज्ञप्तिमा सुझाव संकलनको निमित्त श्रावण ५ र ६ गते जम्मा तीन घण्टा मात्र छुट्याउनुले यो केवल जनताको आँखामा छारो हाल्ने नाटक मात्र भएको आरोप लगाइएको छ ।
वर्षाको समय र खेतीपातीको मध्य सिजनमा निर्वाचन क्षेत्रको एक स्थानमा मात्र जनमत संकलनको कार्यक्रम राखिएको भन्दै यसमा जनताको उत्साहपुर्ण र व्यापक सहभागिता नहुने समेत दाबी गरेको छ । साथै साउन ६ गते नै प्रतिवेदन तयार पारी ७ गते संविधानसभामा पेश गर्ने कार्यतालिकाले पनि जनताले दिने सुझाव भावी संविधानमा स्थान पाउने कुनै सम्भावना रहेको उसले बताएको छ ।
हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र संघियाताबारे जनमत संकलन गर्न आफूले राखेको प्रस्तावमाथि छलफल समेत नभएको भन्दै उसले जनमत र सुझाव संकलनको नाममा अर्बौ रुपैया खर्च गरिएको र त्यो निरर्थक, औचित्यहिन र महंगो अभ्यास मात्र हुने दावी गरेको छ ।











