२७ असार, काठमाडौं । लिपुलेकबारे सरकारले प्रष्ट पार्न सदन र सडकमा निरन्तर माग भैरहँदा समेत सरकारले अझै पनि प्रष्ट जवाफ दिन सकेको छैन । आइतबार संसदमा जवाफ दिएका प्रधानमन्त्री सुशील कोइरालाले पनि यसअघि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले बोलकै कुरा दोहोर्याए । उनले लिपुलेकबारे कुटनीतिक छलफल गरी टुङ्गो लगाइने आश्वासन दिए।
सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेकोसम्बन्धी सभासद्ले उठाएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री कोइरालाले संचार क्षेत्रलाई संकुचित र नियन्त्रण गर्ने योजना सरकारको नभएको बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिंदै कोइरालाले सरकारको नीति तथा कार्यक्रम सबै नयाँ कार्यक्रमको योजनामात्र नभई विगतका कार्यको निरन्तरता पनि हुने स्पष्ट पारे ।
कोइरालाले आगामी आर्थिक वर्षमा सरकारले भूकम्पबाट असर पुगेको अर्थतन्त्रलाई माथि उठाउन थप नीति र कार्यक्रम ल्याएको समेत उनले बताए ।
पुनःनिमार्णलाई मूख्य जोड दिएको सरकारले ठूला भौतिक पूर्वाधारहरुलाई छिटो सम्पन्न गर्ने, महिला हिंसा नियन्त्रण गर्न कडा कानुनी व्यवस्था गरिएको, लोडसेडिङ्ग तीन वर्षभित्र हटाउने लक्ष्य लिइएको प्रधानमन्त्री कोइरालाले बताए ।
प्रधानमन्त्रीले जवाफ दिएपछि बजेट ल्याउन सरकारलाई बाटो खुलेको छ । सरकारले मंगलबार २९ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।











