२५ असार, काठमाडौं । कृषि विकास बैंक स्वयम्भू शाखाका शाखा अधिकृत केदार गौतमको आर्थिक हैसियत एक वर्षमा ह्वात्तै अकासियो। सामान्य उत्सवमा पनि उनी सहकर्मीलाई सुनका औंठी, ल्यापटप, मोबाइल लगायतका महँगा उपहार दिन्थे। उनले भूकम्पपछि लाजिम्पाट क्षेत्रमा अपार्टमेन्ट किने। छोराको व्रतबन्धमा रोयल ब्यान्क्वेटमा भव्य पार्टी दिए।
गौतमको आर्थिक अवस्था कसरी फेरियो ? सबै अचम्भित थिए। बैंकका अधिकारी पनि बेखबर थिए। चासो पनि दिएनन्।
बैंकको रेमिट्यान्स खाताको करोडौं रुपैयाँ गायब भएको तथ्य असार ९ गते बिहान खुल्दा भने कर्मचारीहरू चकित भए। खाताको अवस्था खोतल्दै जाँदा बैंककै कर्मचारीको संलग्नतामा एक वर्षदेखि ‘गम्भीर आर्थिक अपराध’ भइरहेको खुल्यो। त्यसपछि बैंकले अनुसन्धान गर्न प्रहरी गुहार्यो।
असार १० गतेदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आर्थिक अपराध अनुसन्धान गर्ने अधिकारी घोटाला भएको रकमको फेहरिस्त उतार्न व्यस्त छन्। यस क्रममा एक वर्षमा रेमिट्यान्स खाताबाट ३४ करोड रुपैयाँ घोटाला भएको खुल्यो। घोटालामा कृषि विकास बैंकका ग्राहकका १२ खाता प्रयोग भएको पत्ता लाग्यो। तत्काल ती खाता रोक्का गर्दा २ दुइटामा ४३ लाख रुपैयाँ फेला पर्यो भने अन्य खाता रकमविहीन थिए। नक्कली नागरिकता प्रयोग भएर खाता खुलेको देखियो।
‘अहिलेसम्मको अनुसन्धानमा बैंकको ३४ करोड रकम बदनियतपूर्ण रूपमा निकालिएको खुलेको छ’ ,घोटालाको अनुसन्धान गरिरहेको ब्युरोका प्रमुख डिआइजी हेमन्त मल्लले भने, ‘यसमा संलग्नको पहिचान र खोजी प्रयास जारी छ।’
घोटालाको जालो
शाखाका प्रमुख भरत बानियाँ, पैसा राख्ने स्थान भल्ट मा काम गर्ने शाखा अधिकृत गौतम र टेलरमा काम गर्ने गीता पन्त अनुसन्धानको घेरामा परेका छन्। प्रारम्भिक अनुसन्धानमा बानियाँ र पन्त घटनामा संलग्न भएको तथ्य खुलेको छैन। गौतमले नेपालको सीमा काटिसकेका छन्। गौतमका अन्य सहयोगी भएको निष्कर्ष निकालिए पनि पहिचान हुन सकेको छैन। अनुसन्धान अधिकारीहरू अहिले रकम निकाल्न प्रयोग भएका बैंकका सिसिटिभीबाट केही खुल्ने आसमा छन्।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गत असोजबाट स्वयम्भू शाखाको रेमिट्यान्स खाताबाट अन्य १२ खातामा रकम जाने क्रम सुरु भएको थियो। रेमिट्यान्सको प्रवृत्तिअनुसार प्रायः काठमाडौंबाट अन्य जिल्लामा बढी रकम जाने भए पनि कृषि विकास बैंकको स्वयम्भू शाखाको रेमिट्यान्स खातामा कैलाली, कञ्चनपुर, दाङ, सिरहा जस्ता जिल्लाबाट काठमाडौंमा रेमिट्यान्स आउँथ्यो। सबै रकम स्वयम्भू शाखाबाटै बैंकको विभिन्न शाखामा रहेका खातामा ट्रान्सफर हुन्थ्यो। यसरी आएको रकम प्रायः अन्य बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ पद्धतिबाट निकालिन्थ्यो।
गत असोज २९ गते बैंकको मंगलबजार शाखामा नगेन्द्र प्रधानका नाममा रेमिट्यान्स खाता खुलेको थियो। पहिलो कारोबार त्यहीँबाट सुरु भयो। त्यसपछि न्युरोड, पुल्चोक, जावलाखेल र स्वयम्भू शाखामा नवीन गुरुङ, बलराम केसी, रञ्जित भट्टराई, सरोज यादव, रवी कार्की, गोविन्द भण्डारी, गगन प्रधान, सुमन शर्मा, अर्जुन भण्डारी, महेन्द्र राई र वसन्त राईका नाममा खाता खुले। यी सबै खातामा प्रत्येक दिन स्वयम्भु शाखाबाट रेमिट्यान्सको रकम स्थानान्तरण हुन्थे।
घोटाला रोक्न रेमिट्यान्स पठाउनेले रकम पाउनेलाई पठाएको १६ संख्याको कोड नम्बर र परिचय खुल्ने सरकारी निकायबाट जारी भएको परिचयपत्रका आधारमा बैंकको रेमिट्यान्स हेर्ने कर्मचारीले रकम दाखिला गर्ने र अर्को अधिकृतले सोको जाँचपछि स्वीकृति दिएपछि मात्रै रकम निकाल्न सक्ने पद्धति राखिएको थियो।
रकम स्थानान्तरण भएकामा जाँच गर्ने र स्वीकृत दिने दुवै प्रक्रिया पूरा भएका थिए। तर, रेमिट्यान्सको गोप्य १६ संख्याको कोड र रकम निकाल्न आउनेको परिचयपत्र कतै थिएन।
प्रारम्भमा थोरै–थोरै रकम स्थानान्तरण हुने गरे पनि पछिल्लो समय एकै पटक ठूलो मात्रामा रकम स्थानान्तरण भएको थियो। स्रोतअनुसार गगन प्रधानका नाममा खुलेको खातामा एकै दिन ४ करोड ४१ लाख रुपैयाँ स्थानान्तरण भएको छ। रञ्जित भट्टराईका नाममा खुलेको खातामा २ करोड ८० लाख स्थानान्तरण भएको खुल्यो भने अन्यको नाममा एकै पटक ५० लाखभन्दा बढी रकम स्थानान्तरण भएको देखियो।
खातामा १० लाखभन्दा बढी रकम आए त्यसको स्रोत नेपाल राष्ट्रबैंकलाई जानकारी गराउनुपर्ने र शंकास्पद देखिए अनुसन्धान हुने भए पनि कृषि बैंकमा एक वर्षसम्म भएको यत्रो आर्थिक अपराधबारे केन्द्रीय बैंकले समेत चालै पाएन।
‘रेमिट्यान्सका लागि बचत खाता खोलिने भए पनि यसमा चल्ती खातासमेत खोलिएको छ’,स्रोतले भन्यो, ुखाताबाट एकै दिन ४ करोड ४१ लाख रुपैयाँ स्थानान्तरण हुँदा समेत केन्द्रीय कार्यालय र शाखाका प्रमुखले पत्तो नपाउनु रहस्यमय छ।’
यसरी खुल्यो घोटाला
असार ९ गते केन्द्रको डिजिटल रेकर्डमा रेमिट्यान्सवापत आएको रकम दाखिला भएको तर, अन्तिम स्वीकृत नभएको देखियो। त्यसपछि केन्द्रका अधिकारीले सो रकम कहाँबाट कसले कसको नाममा पठाइएको हो भनेर विवरण हेरे। तर, विवरण केही थिएन।
स्रोतअनुसार स्वयम्भू शाखाबाट सो रकम दाखिला भएको थियो। रकम पठाउने शाखाको नाम थियो, तर आवश्यक पर्ने १६ संख्याको गोप्य कोड थिएन, पठाउनेको नामसमेत नदेखिएपछि केन्द्रको सो शाखासँग सोधपुछ गर्दा त्यस्तो रकम नै नपठाएको खुल्यो। त्यसपछि केन्द्रले स्वयम्भू शाखाबाट भएको रेमिट्यान्सको कारोबार हेर्दा ठूलो घोटाला भइरहेको पत्ता लाग्यो।
स्वयम्भूमा रकम दाखिला गर्ने जिम्मेवारी पन्तले पाएकी थिइन्। रकम स्थानान्तरणका लागि आवश्यक कोडबारे उनी र शाखा प्रमुख जानकार थिए। अनुसन्धानको प्रारम्भमा गीताले आफ्नो कम्प्युटरमा शाखा अधिकृत गौतम बसेर सघाउने गरेको खुल्यो। जानकारी लिन गौतमसँग सम्पर्क गर्दा प्रारम्भमा उनको फोन लाग्यो, तर उठेन। पछि मोबाइल स्विचअफ भयो।
बैंकको क्लोज सर्किट टेलिभिजनको रेकर्डमा रेमिट्यान्सको खाताबाट दोस्रो खातामा रकम दाखिला भएका बेला गीताको कम्प्युटरमा गौतम बसेको देखियो। काम गर्दागर्दै बत्ती गएपछि उनले सो रकमको अन्तिम स्वीकृति दाखिला गर्न नभ्याउँदा केन्द्रले चाल पाएको थियो।
स्रोतका अनुसार यो बीचमा गीताको आर्थिक अवस्थामा नाटकीय उतारचढाव देखिएको छैन। अनुसन्धान अधिकारीले उनको परिवार, आफन्तको आर्थिक अवस्था बुझ्दासमेत शंकास्पद नदेखिए पनि उनी अनुसन्धानकै दायरामा छिन्।
रकम घोटालाका लागि प्रयोग भएको खाताको विवरणमा गौतम संलग्न रहेको खुलेको थियो। प्रहरीले खाता खोल्दा राखिएको नागरिकता खोज्दा सबै नक्कली देखियो।
कृषि विकास बैंकका एक अधिकारीले यसबारे आन्तरिक अनुसन्धान भइरहेको र केही समयमै बैंकले घटना सार्वजनिक गर्ने बताए। राष्ट्रबैंकका अधिकारी जानकारी नभएको भन्दै पन्छिए।
अनुसन्धानरत ब्युरोका प्रमुख डिआइजी मल्लले ‘अनुसन्धान सुरु गरी बैंकसँग आवश्यक विवरण मागेको जानकारी दिए। ‘अहिले नै अनुसन्धान घटनाको गहिराइमा पुगिसकेको छैन’, मल्लले भने, ‘संलग्न भएकाहरूको खोजी र अनुसन्धानका लागि आवश्यक विवरण संकलनमा केन्द्रित छौं।’
(केपी ढुङ्गाना / नागरिक दैनिकबाट)