२५ असार, पोखरा । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डा. आयुष अर्यालविरुद्ध आफ्नै साथीको हत्या गरेको किटानी जाहेरी परेको छ । पोखरामा गत शनिबार आफ्नै साथीको हत्या गरेको आरोप अर्यालविरुद्ध लागेको र प्रहरीले किटानी जाहेरी समेत लिन नमानेका समाचार प्रकाशित भएका थिए । तर मृतकका बाबु समेत नेपाल सरकारका उच्च अधिकारी भएकाले उनले किटानी जाहेरी दर्ता गराइछाडेका छन् । इमानदार र कर्तव्यनिष्ठ मानिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल एकातिर आफ्नै प्रहरी संगठनको अधिकार सशस्त्रले खोसेको र गृहमन्त्री वामदेव गौतमले गाली गरिहेकोले समस्यामा छन् भने अर्र्कोतर्फ छोरालाई हत्या आरोप लाग्नुले झनै तनावमा रहेको स्रोतले बताएको छ ।
गत शनिबार साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २ सय मिटर नजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर मृत्यु भएका इन्टर्न डा. अनिमेश ठाकुरको मृत्यु भएको थियो । उनको मृत्युलाई रहस्यम भन्दै ठाकुरको परिवारले हत्याको आरोप लगाएको हो ।
कास्की प्रहरीले सकेसम्म घटना बाहिर ल्याउन चाहेको छैन् ।
मृतकका पिता स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव गरिबदास ठाकुरले आफ्नो छोराको हत्या महानिरीक्षक अर्यालका छोरा र उनका साथी प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएका छन्।
ठाकुर शनिबार राति मृत्यु हुनुअघि युवतीको कोठामा अर्का इन्टर्न आयुष अर्यालसँगै रहेका थिए ।
प्रहरीले रेलिङ्गमा झुन्डिएका ठाकुरलाई सँगैका साथीले बचाउन खोज्दाखोज्दै खसेको बताएको छ । ‘रक्सीले मातेका साथी रेलिङ्गमा झुन्डिएपछि उनीसँगैका केटा र केटी साथीले तानेर बचाउने प्रयास गरेको तर ७२ केजीको ठाकुरलाई माथि तान्न नसकेकाले भुइँमा खसेरे मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति पौने दशबजेतिर ठूलो आवाजसँगै युवती चिच्याएको आवाज आएपछि स्थानीयबासी घटनास्थलमा पुगेका थिए ।











