२४ असार, काठमाडौं । असमर्थ जीवन बाँच्नुभन्दा स्वेच्छाले मृत्युवरण गर्न कानुनी रुपमै पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवदेन दर्ता भएको छ ।
अधिवक्ताद्वय उत्तमप्रसाद रिजाल र टङ्कहरि दाहालले संयुक्त रुपमा संविधानसभा, व्यवस्थापिका–संसद्लगायतलाई विपक्षी बनाएर दायर गरेको निवेदनमा संविधानले मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूत गरेकाले स्वेच्छाले कानुनी रुपमै ‘मर्न पाउने अधिकार’पाउनुपर्ने उल्लेख छ ।
नफर्कने मुर्छामा जीवन बिताउनु र वषौँ पीडादायक जीवन बाँच्नुभन्दा मर्न पाउने अधिकार पनि मानवअधिकारभित्र पर्ने भएकाले पीडाहीन वा स्वेच्छाले जीवनको अन्त्य गर्ने उपायलाई वैधता दिनुपर्ने माग गरिएको छ ।
निवेदनमा भनिएको छ, “कसैले इच्छापूर्वक मृत्युवरण गर्न चाहेमा वा उसको संरक्षक, नातेदार, पारिवारिक चाहनाबाट स्वेच्छापूर्वक जीवनलाई अन्त्य गर्ने उपाय रोजेमा पीडाहीन मरणलाई कानुनी तथा संवैधानिक हक प्रदान गर्न माग गर्दछौँ ।”











