२४ असार, काठमाडौं । तिब्बतको खासामा रोकिएको अढाई महिनापछि नेपाल पसेका चार सय ५० मालबाहक ट्रक सिन्धुपाल्चोकको जुरे पहिरोमा अलपत्र परेका छन् । । भूकम्पले क्षतिग्रस्त बाह्रविसे-तातोपानी खण्ड सडक मुस्किलले पार भए पनि सामानसहितका कन्टेनर चार दिनदेखि जुरेको जोखिमयुक्त सडकमा रोकिएका छन् ।
सडक कार्यालयले तीन वटा डोजर लगाएर पहिरो पन्छाउन खोजे पनि यातायात सुचारु हुन सकेको छैन । सडक कार्यालयका सव इन्जिनियर श्रवण मण्डलले पहिरोमा लेदो माटो बगिरहेकाले बढी समस्या आएको बताए । लेदो माटोका कारण सडकमै रहेका ट्रकको अवस्था जोखिमपूर्ण रहेको स्थानीयहरुले जानकारी दिए ।
अघिल्लो दिन पहिरो पन्छाउने काम गर्यो भोलिपल्ट पुनः लेदो बगेर पुरिने भएकोले समस्या भएको सम्बद्ध अधिकारीहरु बताउँछन् । स्थानीय तहमा मेसिनको माग भैरहेपनि प्राप्त हुन सकेको छैन ।
राजमार्गको जम्बुदेखि बाह्रविसे बजारदेखि पहिरोसम्मको ६ किलोमिटर क्षेत्रमा कन्टेनरहरु लामवद्ध छन् । डेढ साताको प्रयासपछि तातोपानी खण्ड सडक पार गर्दै आएका कन्टेनर जुरेमा अड्किएपछि जोखिम झन् थपिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीले बताए ।
वर्ष दिन अघिको पहिरो व्यवस्थापन गर्न सरकारले प्रभावकारी पहल नगरेकाले अहिले यस्तो समस्या आएको तर्क उनको छ । गत साउनमा पहाड खसेर सुनकोसी थुनिएपछि दुई महिनामा अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको थियो ।
सडक खुलाउन नसक्दा वारी ल्याईएका कन्टेनर झन् जोखिममा परेका छन् । भूकम्पपछि लगातार पहिरो चलेपछि तातोपानी, लिपिङ, कोदारीलगायत सीमा जोडिएका सवै बजार सुनसान छ ।
अलपत्र परेका कन्टेनरमा जुत्ता, चप्पल, कपडा, तयारी पोसाकलगायत दुई अर्ब रुपैयाँभन्दा बढीका सामान छन् । भन्सारले उक्त कन्टेनर राजधानीको विमानस्थल भन्सारमा लगेर जॉच गर्ने जानकारी दिएको छ । राजमार्गको बसेरी भन्ने स्थानमा भन्सार कर्मचारीले कन्टेनरहरुमा सिल लगाएर बाह्रविसेतर्फ पठाइरहेका छन् ।











