२४ असार, कन्चनपुर । दूधमा विषादी हालेर बालबालिकासहित सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु भएको छ । विषादीसहितको दूध पिएका तीन बालबालिकाको अवस्था चिन्ताजनक रहेको छ ।
कञ्चनपुरको दैजी(३ धर्मपुरकी २८ वर्षीया मीना बोगटीको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।
बालबालिकासहित उनले दूधमा विषादी मिसाई सेवन गरेकी थिइन् । छिमेकीको सहयोगमा उनलाई तत्काल महाकाली अञ्चल अस्पतालमा पुर्याइएको थिो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।
विषादी सेवन गराइएका मृतककी छोरा नरेन्द्र, छोरी जेनु र करुणाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि भारतको खटिमातर्फ लगिएको छ ।
तीनै बालबालिकाको अवस्था चिन्ताजनक रहेको छ । बालबालिकाको उमेर तीन वर्षदेखि पाँच वर्षसम्म रहेको छ । मृतक महिलाका श्रीमान् भारतमा मजदुरी गर्न गएको र उनी तीन छोराछोरीसँगै बस्दै आएकी थिइन् ।
मीनाले बालबालिकासहित आफूले विषादी सेवन गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले सामूहिक आत्महत्याको प्रयास गर्नुको कारणबारे अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । रासस











