दिनेश ठाकुर
२३ असार, नेपालगंज । नापी कार्यालय नेपालगन्जमा कार्यरत अमिन मनेलाल यादवलाई सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरको टोलीले अमिन यादवलाई सेवाग्राहीबाट २४ हजार घुस लिँदै गर्दा बुधवार दिउसो पक्राउ गरेको हो । यादवले जग्गा नापी गर्ने क्रममा वर्गमिटर बनाउँदा जग्गा बढेको भन्दै आफुसँग घुस मागेको बताउँदै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
सेवाग्राहीको उजुरीपछि अख्तियारको टोली आफैले रकम दिएर यादवलाई बुझाउन पठाएको हो । अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बशन्त कुँवरको नेतृत्वको टोलीले नापी कार्यालयमा छापा मारी सेवाग्राहीबाट घुस लिने अमिन यादवलाई पक्राउ गरेको हो ।
एकसाताअघि मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेका नायबसुब्बा ईद्रिस अली बेहेनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । बरामद भएको रकम धरौटीबापत बुझाएर बेहना धरौटीमा रिहा भइसकेका छन् ।
बुधवार पक्राउ गरिएका अमिन यादवलाई बयानका लागि अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालय कोहलपुरमा पु¥याइएको छ । यसअघि पनि अख्तियारको टोलीले यसअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरिक्षक र प्रहरी सहायक निरिक्षक, नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत नासु र भूमि सुधार कार्यालयमा कार्यरत दुइजना खरिदारलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।
अख्तियारको क्षेत्रीय कार्यालयले सेवाग्राहीको बढि चाप हुने सरकारी कार्यालयमा विशेष निगरानी बढाएर जानकारी लिइरहेको स्रोतले जनाएको छ ।
अख्तियारको क्षेत्रीय कार्यालयले यस क्षेत्रमा नौवटा घटनामा सरकारी कर्मचारी घुससहित रङ्गेहात पक्राउ गरिएको जनाएको छ ।













