२३ असार, गोरखा । एमाओवादीका वरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराईले आफ्ना पार्टीअध्यक्ष प्रचण्डविरुद्ध विभिन्न आरोप लगाउँदै नेतृत्व छाड्न आग्रह गरेका छन् । गृहजिल्ला गोरखा पुगेर भट्टराईले एउटै व्यक्ति सधैं नेतृत्वमा टाँसिएको भन्दै कुर्ची छाड्न आग्रह गरेका हुन् । एमाओवादीमा अब नेतृत्व परिवर्तन गर्ने बेला आएको धारणा उनले व्यक्त गरे ।
गृह जिल्ला गोरखा पुगेका भट्टराईले एउटै व्यक्ति आजीवन नेतृत्वमा बसिरहन नहुने भन्दै नेतृत्व परिवर्तनको माग गरे । वुधबार गोरखामा ज्येष्ठ नागरिक समाजको साधारण सभाको उद्घाटन भट्टराईले पार्टी सत्तामा बस्नेले सँधै पार्टीलाई एकलौटी प्रभाव जमाइराख्ने भएकाले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिए।
काठमाडौंमा आफूले नभई अध्यक्ष समूहले एक्लौटी रुपमा गुट भेला गरेको आरोप उनले लगाए। अध्यक्ष गुटको भेलामा सहभागी हुन नपाएकाहरुलाई आफूले सम्हालेको उनको दाबी छ । उनले असारको सात गते आफूलाई अध्यक्षका नजिक हौं भन्नेहरुले अत्यन्त उद्दण्ड तरिकाले एकलौटी रुपमा भेला गरेको बताए ।
भूकम्पको उद्धार तथा राहत, पुनर्निर्माणको कार्यक्रम पनि अध्यक्ष पक्षधरले एक्लाएक्लै गरेको भट्टराईले बताए । भेला पनि एक्लाएक्लै गरेकोले आफूहरुले पनि स्वतः आफ्नै ढंगले भेला गरेको उनको भनाइ थियो । उनले समानान्तर समिति अहिले पनि जिल्ला जिल्लामा सक्रिय रहेको बताए ।
भट्टराईले माओवादीको नेतृत्वमा नयाँ शक्तिको खाँचो रहेको पनि बताए । राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, संघीय राज्य, संबिधान सभाबाट संबिधान निर्माणका एजेण्डा पूरा भएकाले बदलिँदो समयमा नयाँ एजेण्डासहितको आन्दोलन हाँक्न सक्ने शक्तिको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने उनको भनाइ छ ।











