सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का कांग्रेस सभासद्ले आफ्ना मान्छेलाई ठेक्का पार्न भन्दै जिल्ला विकास अधिकारी लगायतका कर्मचारीलाई दुव्र्यवहार गरेका छन् । एक हुल युवासहित स्थानीय विकास अधिकारी महेश बरालको कार्यकक्षमा प्रवेश गरेर काँग्रेस जिल्ला सभापति एवम सभासद मोहनबहादुर बस्नेतले कर्मचारीलाई तथानाम गाली गरेको जनाइएको छ ।
सभासदले स्थानीय विकास अधिकारी बराल, जिल्ला प्राविधीक कार्यालयका प्रमुख इन्जिनियर, योजना अनुगमन तथा प्रशासकीय अधिकृत र प्राविधिक कार्यालयका केही कर्मचारीहरुलाई हातपातको प्रयास पनि गरेका थिए ।
बस्नेतको ठूलो स्वर र अश्लिल शब्द सुनेर जिविसमा आएका सेवाग्राहीहरु समेत स्थानीय विकास अधिकारीको कार्यकक्ष अगाडी झुम्मिएका थिए ।
चुनावमा आफूलाई हराउन लागेका कर्मचारी भन्दै प्राविधिक कार्यालयका ओभरसियर हेम श्रेष्ठलाई समेत सभासद् वस्नेतले अपमान गरेका थिए ।
भुकम्प लगतै टेण्डर खोल्नु पर्ने भएपनि भुकम्पले कार्यालय सबै ध्वस्त भएपछि असुरक्षित हुने भन्दै केही समयपछि पृुनः टेण्डर गर्न केन्द्रले समेत भनेपछि प्राविधिक कार्यालयले टेण्डर स्थगित गरेको थियो ।
केन्द्रको समेत सहमतीमा टेण्डर स्थगित भएपनि प्राविधिक कार्यालयका विवादस्पद इन्जिनियर अरुणकुमार झाको मिलेमतोमा आफ्ना मान्छेलाई टेण्डर पार्न चाहेका सभासद बस्नेतले कर्मचारीहरुलाई तथानाम अपशब्द प्रयोग गरेका हुन् ।
भूकम्पको राहतमा समेत सभासद् वस्नेतले भ्रष्ट्राचार गरेका समाचारहरु समेत यसअघि विभिन्न संचारमाध्यममा आएका थिए ।













