२२ असार, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ झौखेलमा आफन्त पर्ने ७० वर्षीय गोपाल हमाल र २२ वर्षीय गौतम मल्लबीच रोपाइँमा विवाद भई हिलो हानाहान हुँदा हमालको मृत्यु भएको छ ।
साँध जोडिएको खेतमा रोपाइँ हुने क्रममा आज साँधसिमानाको विवादका क्रममा दुई जनाबीच सामान्य हात हालाहाल भएको र दुवैले एक अर्कालाई माटाले हानाहान गर्दा हमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अभियुक्त मल्ललाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको छ । मुटुका बिरामीसमेत रहेका हमाल खेतमै बेहोस भएर लडेलगत्तै परिवारले अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीको भनाइ छ । मल्लले आफूले मार्ने नियतले हिलाले नहानेको जिकिर गरेका छन् ।













