नेपालको नयाँ संविधानको पहिलो एकीकृत मस्यौदालाई संविधानसभाले आज पारित गर्दैछ । मस्यौदामाथिको अन्तिम छलफल अहिले संविधान सभामा जारी छ ।
मस्यौदामाथिको छलफल आजै सकेर बेलुकासम्म यसलाई पारित गर्ने कार्यसूची छ। पारित भएपछि यसलाई जनमतका लागि सार्वजनिक गरिनेछ।
ुुुुनेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ आजै पेस गरेपछि त्यसलाई दुई तिहाईभन्दा बढी बहुमतले पारित गर्नेछ। त्यसपछि सरकारले मस्यौदालाई राजपत्रमा प्रकाशित गर्नेछ।
मस्यौदा समितिले पारित गरेको प्रतिवेदन असार १५ गते संविधानसभामा प्रस्तुत भएको थियो।संविधानको पहिलो मस्यौदामा एक सय २८ पृष्ठको मस्यौदामा २९७ धारा छन्। मस्यौदामा २७ भाग छन् भने ७ अनुसूची राखिएका छन्।
मस्यौदामाथिको असार १७ गतेदेखि संविधानसभामा छलफल सुरु भएको थियो। आज बेलुकासम्म करिब चारसय जनाको सहभागिता हुनेछन् । मधेस केन्द्रित दल चार दलहरुले पनि छलफललाई बहिष्कार गर्दै आएका छन् ।
१५ दिन जति जनमत संकलन गरेपछि जनताबाट आएका सुझाव तथा मतका बारेमा संवैधानिक तथा सम्वाद समितिमा फेरि छलफल हुने छ । सम्वाद समितिले प्रतिवेदनसहित परिमार्जनका लागि प्रतिवेदन संविधानसभामा पेस गरेपछि मस्यौदा समितिले परिमार्जनको काम थाल्ने छ।
मस्यौदा समितिले परिमार्जन गरेर मस्यौदालाई अन्तिम रुप दिएपछि मात्र यसलाई विधेयकका रुपमा प्रस्तुत गरिने छ। विधेयकउपर पनि संशोधन प्रक्रिया हुनेछ । यी सबै प्रक्रिया सकेर साउन मध्यसम्ममा संविधान जारी गर्ने तयारीमा दलहरु जुटेका छन् ।
संविधानसभा अध्यक्षा सुवास नेम्वाङ र संविधानसभा सविचालय पनि फास्ट ट्रयाकबाट साउन १५ सम्म संविधान जारी गर्ने गरी संविधानसभाको कार्यसूची र समयतालिका व्यवस्थापनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन्।
सभाध्यक्षले चार दलका शीर्ष नेताहरुसमक्ष साउन १५ सम्म संविधान जारी गर्ने गरी तयार हुन र राजनीतिक तहबाट टुंगो लगाउनुपर्ने विषय एवं कामलाई नअड्काउन आग्रह गरिसकेका छन्। चारै दलका शीर्ष नेतृत्व साउन १५ सम्म संविधान ल्याउने सभाध्यक्षको प्रस्तावमा सहमत भइसकेका छन्।











