उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्नेको संख्या बढेको महानगरीय प्रहरी कार्यालयको विवरण उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।
प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना तथा जेठमा ३१ जनाले आत्महत्या गरेका छन् ।
भूकम्पपछि आत्महत्या गर्नेको संख्या बढेको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताए । भूकम्पले दिएको पीडाले पनि आत्महत्याका घटना बढेको हुनसक्ने प्रहरी अनुमान छ । सातजनाले त भूकम्पले ल्याएको मानसिक असन्तुलनका कारण नै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्नेमा धेरै युवा छन् । २६ देखि ३५ वर्ष उमेरका १७, १६ देखि २५ वर्ष उमेरका १५ जनाले आत्महत्या गरेका छन् । अशिक्षितले धेरै आत्महत्या गरेको पनि प्रहरीको तथ्यांक छ । दुई महिनामा आत्महत्या गर्ने ६७ मध्ये ४३ जना साधारण लेखपढ गर्ने रहेको प्रहरीले जनाएको छ । स्नातकोत्तर पढेका एक, स्नातक पढ्ने पाँच, प्रवीणता पढ्ने पाँच र एसएलसी पढेका आठजना छन् ।
आत्महत्या गरेकामध्ये २० जना ज्यालामजदुरी गर्ने, १३ जना कृषि पेसा अपनाएका र १० जना विद्यार्थी छन् । जातको आधारमा जनजाति र नेवार धेरै रहेको प्रहरीले जनाएको छ ।
ख्याल गरौँ गाली गर्दा गुम्न सक्छन् छोराछोरी
छोराछोरीलाई सधैँ गाली गर्ने अभिभावकको बानीले छोराछोरी गुम्ने खतरा रहेको प्रहरीको अध्ययनले देखाएको छ । प्रहरीका अनुसार वैशाख र जेठमा उपत्यकामा आत्महत्या गर्ने ६७ मध्ये पाँचजनाले अभिभावककै गालीका कारण आत्महत्या गरेका छन् ।











