कृष्णा शर्मा
संविधान बनाउनभन्दा पनि यतिवेला केही साना दलहरुले आफ्नो भविष्यको भोट सुरक्षित गर्न र दानापानी प्राप्त गरेका ख्वामितलाई देखाउन मात्रै संविधानको मस्यौदाको विरोध गरेको स्पष्ट भएको छ । केही मधेसकेन्द्रित दल र राप्रपा नेपालका शैलीले यही कुरा प्रष्ट पारेको छ । मधेसकेन्द्रित दलहरुले पहिला संविधान सभामा मस्यौदा च्याते, भोलिपल्ट सडकमा जलाए अनि त्यसपछि भने –मस्यौदा अध्ययन गर्नका लागि हामीलाई एक हप्ता समय चाहिन्छ ।
यो यथार्थप्रति सामाजिक संजालमा पनि व्यंग्य भरिए । एमाले नेता शंकर पोखरेलले लेखे – मधेसकेन्द्रित दलहरुले त मस्यौदा पढ्दै नपढी पो च्यातेका रहेछन् ।
हुन पनि वास्तविकता त्यही नै देखियो केही मधेसकेन्द्रित दलहरुले पहिलो मस्यौदा च्यात्ने र जलाउने काम गरेपछि मात्रै अध्ययन गर्ने समय मागे । त्यसपछि उनीहरुले मस्यौदा अध्ययन गर्नेभन्दा पनि बाह्य शक्ति केन्द्रलाई संविधान बनाइदिने जस्तो गरी भारतीय दुतावासमा पुगेर अनुनय गरे । यो घटनाले उनीहरु संविधानको अध्ययन गर्नुभन्दा पनि ख्वामितको मन राख्न विरोध गरेको वा कसैको मिसनमा परचालित भएका कारण त्यतैप्रति इमानदार भएको प्रष्ट हुन्छ ।
अब रह्यो राप्रपा नेपालको कुरा । चलाख राजनीतिक खेलाडी कमल थापा पनि मस्यौदाको मर्म नै नबुझेर दुई दिनसम्म संविधान सभामा उफ्रिए र आफ्ना सभासद्लाई पनि अर्थहीन रुपमा उफ्रन बाध्य पारे । देशको गृहमन्त्री बनी सकेका थापाले अर्का गृहमन्त्री कृष्णप्रसाद सिटौलाले मस्यौदाको मर्म बुझाएपछि शान्त भए । थापाले संविधान सभामै भने – मस्यौदा समितिका सभापतिले कुरा प्रष्ट पारेपछि अब संविधान सभा अबरुद्ध पार्न आवश्यक ठानेनौं ।
यसको अर्थ के कमल थापाले धर्मबाट अलग रहने नागरिक स्वतन्त्रतासम्बन्धि अर्थ नबुझेरै दुई दिनसम्म उफ्रिए होलान् । होइन यो त केवल धर्मका नाममा भोट सुरक्षित पार्नका लागि गरिएको नाटकजस्तो मात्र देखिन्छ । पूर्वराजा र राजावादीहरुसँग चुनावका वेला लिएको रकम चुक्ता गर्नका लागि गरेको अभिनय मात्र भएको प्रष्ट हुन्छ । होइन भने धर्मपरिवर्तनको विरोध गर्ने कमल थापाले अर्बौं रकम धर्मका नाममा भित्र्याएर राजनीतिकरण गर्ने एकनाथ ढकालहरुको किन विरोध गर्दैनन् । त्यस्ता दलहरुलाई विर्को लगाउनका लागि निर्वाचनमा थ्रेस होल्डको व्यवस्था गर्नुपर्छ भनेर किन बोल्दैनन् । किनकि कमल थापा स्वयम्लाई थाहा छ धर्मका नाममा भोट मागेर मोटो रकममा सभासद् पद विक्री गर्नेलाई जनताले सधैंभरि आँखा चिम्लेर छाप हान्दैनन् भन्ने ।

संविधान सभामै एमाओवादीका सभासद् रामनारायण विडारीले मूर्ति बेच्नेले धर्मको कुरा गर्न नमिल्ने भनी कमल थापालाई मर्ममै प्रहार गरे । पूर्वराजा ज्ञानेन्द्रलाई मूर्ति बेच्ने गरेका आरोपहरु उनी राजा नबन्दैदेखि लाग्दै आएका हुन् । त्यसमा कमल थापाको समेत साथ रहेछ विडारीले प्रष्ट पारे ।
त्यसकारण पनि संविधानको मस्यौदाको विरोध गर्नेहरु आफ्ना कुत्सित मनसाय पूरा गर्नका लागि मात्रै उफ्रिएको प्रष्ट हुन्छ । त्यसो त चार दलले पनि उनीहरुका शीर्ष नेताहरुको कुत्सित मनसाय पूरा गर्नका लागि मात्रै संविधान बनाउने सहमति गरेको प्रष्ट भैसकेको छ । बन्न लागेको संविधान रोक्न आफूहरुको बलवुताले नभ्याउने अभिव्यक्ति मोहन वैद्यले समेत दिई सकेका छन् ।
संविधानको मस्यौदामा चार दलका शीर्ष नेताबाहेक ती दलका अन्य नेता र कार्यकर्तालाई समेत मन परेको छैन । कांग्रेस सभासद् तथा जिल्ला सभापतिहरुले कम्युनिस्टहरुको पेलाइमा मस्यौदा बनाएको अरोप लगाए भने एमाओवादी सभासद्हरुले पनि संसदीय दलको बैठकमा नेतृत्वको तीव्र आलोचना गरे । त्यसो भए नयाँ संविधान कुन दलको एजेण्डामा बन्दै छ त । कतै केवल एमाले अध्यक्ष केपी ओलीाके प्रधानमन्त्री बन्ने उद्देश्यका लागि मात्र त बन्दै छैन ?
संविधान केपी ओलीकै लागि सही कम्तीमा संक्रमणकाल त अन्त्य होला । २०४६ पछिको निरन्तर अस्थिरता र संक्रमणको चपेटामा परेको नेपाली पुस्ताले विकास र शान्तिका आशामा बाँच्न त पाउला । संक्रमणकालको आडमा बढेको विदेशी हस्तक्षेपमा कमी त आउला ।











