१९ असार, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष प्रचण्डले आफूलाई निर्माण प्राधिकरणको नेतृत्व नदिन षडयन्त्र गरेको आरोप लगाउँदै आफूपक्षीय गुटको भेला गरेका छन् । शनिबार राजधानीमा उपत्यकास्तरीय भेला गरेको जानकारी भट्टराई स्वयम्ले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उपत्यकास्तरीय भेला भनी उनी स्वयम्ले सार्वजनिक गरेको तस्वीरमा उनी पक्षीय नेता तथा कार्यकताहरु देखिएका छन् । पछिल्लो समयमा भट्टराईले एकलौटी रुपमा भेला गरेका कारण एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई पक्षबीचको विवाद फेरी चर्किएको स्पष्ट भएको छ।
संविधानको मस्यौदा संविधानसभामा छलफल हुन थालेपछि प्रचण्ड र भट्टराईको विवाद औपचारिक रुपमा सार्वजनिक भएको हो ।
भारतप्रस्त भएको आरोप लाग्ने गरेका भट्टराईको यो भेला मधेसकेन्द्रित दलहरुकै कित्ताको अर्को कदम भएको विश्लेषकहरुले बताएका छन् । संविधान बन्ने भएपछि अत्तालिएर मधेसी नेताहरु भारतीय दुतावास पुगे पनि भट्टराई भने गएनन् । भट्टराईले भारतीय चाहनालाई फरक ढंगले पूरा गर्न नयाँ कदम चालेको विश्लेषकहरु बताउँछन् ।
वर्तमान सहमतिको विरुद्धमा भट्टराईले घुमाउरो पाराले विरोध गर्दै उपत्यका स्तरिय पार्टी प्रशिक्षण कार्यक्रममा संविधानसभाबाट प्राप्त उपलब्धीको रक्षा र आर्थिक विकास गर्दै समाजवादको दिशामा अघि बढने संकल्प गरिएको आफनो फेसबुक स्टाटसमा लेखेका छन् ।
शनिबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा भएको भेलामा भट्टराई, टोपबहादुर रायमाझी, हिसिला यमी,नवराज सुवेदी,देवेन्द्र पौडेल,प्रभु साह, गंगानारायण श्रेष्ठ,भक्ति पाण्डे लगायतका नेताहरु सहभागी थिए।











