१९ असार, काठमाडौं । नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले शनिबार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ । लिपु लेकमा सहमति गरेर भारत र चीनले नेपालमाथि हस्तक्षेप गरेको भन्दै ३३ दलले ज्ञापन बुझाएको हो । सरकारको स्तरबाट नेपालको भूमिमाथिको हस्तक्षेप रोक्न आग्रह गर्दै नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटार पुगेर ज्ञापन बुझाइएको हो ।
यसअघि शनिबार नै माओवादी उपत्यका ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै वैद्यले चीन विरुद्ध पनि लड्नुपर्ने अवस्था आएको बताएका थिए । लिपुलेकबारे भएको सम्झौतापछि चीन र भारत एउटै कित्तामा आएको ठहर वैद्य नेतृत्वका माओवादीले गरेको जानकारी सो पार्टीका सचिव देव गुरुङले दिए ।
लिपु लेक हस्तक्षेपको विरुद्धमा ३३ दलीय मोर्चा र पार्टीले छुट्टाछुट्टै रुपमा आन्दोलन गर्ने तयारी गरेका छन् । त्यसका लागि असार २१ गते ३३ दलको बैठक बस्ने र त्यसपछि मात्रै पार्टीले नयाँ परिस्थितिको बारेमा कार्यक्रम ल्याउने जानकारी समेत गुरुङले दिए ।











