१९ असार, काठमाडौं । गृहमन्त्री भएपछि प्रहरी अधिकारीहरु आफ्नो चाकडीमा नआएको भन्दै आक्रोस पोख्ने एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्ना साढु भाइ हरि पराजुलीको जागिर खोसिएको रिस प्रहरी संगठनमाथि पोखेका छन् । रमेश खरेलले आफूलाई भेट्न सिंह दरबार नआएको भनी आक्रोस पोखेका गौतमले शुक्रबार पनि त्यस्तै आक्रोस पोखे । प्रहरीले गरेको असल कामका लागि सम्मान तथा पुरस्कार प्रदान गर्न गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्रीले प्रहरीको सम्मानमा होइन अपमानमा शब्दहरु खर्च गरे । रानीबारी हत्याकाण्डका हत्यारालाई ढिलै भए पनि पक्रन सफल प्रहरीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले प्रहरी संगठनले आफूलाई सलाम ठोक्न समेत छाडेको आरोप लगाए । रानीबारी हत्याकाण्डको अनुसन्धानको समेत आलोचना गर्दै काकतालीले हत्यारा समातिएको दावी गरे ।
गृहमन्त्री गौतमको यो अभिव्यक्तिले नेपाल प्रहरीप्रति उनको ठूलै रिस रहेछ भन्ने प्रष्ट पारेको छ । नेपाल प्रहरीको संगठनप्रति नै बदलाको भावले सशस्त्र प्रहरीलाई पक्राऊ पुर्जी दिने निर्णय गौतमले गरेको बुझ्न समेत अब गाह्रो नभएको विश्लेषकहरु बताउँछन् ।
त्यसो त गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक नै फेरेर अकुत भ्रष्ट्राचार गर्ने कार्य गौतमले मात्रै गरेका छन् । कतै वर्तमानका इमानदार महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाएर अर्को महानिरीक्षक ल्याउने दाउमा त छैनन् गौतम ? जेव्रा क्रसिङबाट बाटो नकाटी डोरी नाघेर आफूले बाटो काटेको दोष पनि कतै प्रहरी संगठनलाई नै लगाउने दाउमा त छैनन् वामदेव ?
जनताका पक्षमा काम नगर्ने भ्रष्ट्रलाई मात्र स्थान दिने गौतमले भूतपूर्वहरुलाई सुविधा दिने विधेयक अगाडि बढाएका थिए । वर्षौं पहिले गौतमकै नेतृत्वमा हज कमिटी अध्यक्ष हुँदा करोडौं भ्रष्ट्राचार गरेको आरोप लागेका ताज महम्मद मियाँलाई उनले फेरि त्यही पद दिएका छन् । मियाँले करोडौं भ्रष्ट्राचार गरेको संसदको सार्वजनिक लेखा समितिले समेत ठहर गर्दै छानविन गर्न निर्देशन दिएको थियो । वामदेवकै दवावमा त्यसको छानविन रोकिएको स्रोत वताउँछ ।











