नरेश सर्राफ / वीरगन्ज १८ असार
प्रधानमन्त्री शुशिल कोइरालाले मुलुकले लामो समय द्वन्द्व र अशान्तीमा खर्च गरी सकेकाले अब फुटेर नभई जुटेर मुलुकलाई आर्थिक विकासको पथमा लग्नु पर्ने बताएका छन् । यो समय फुटेर होईन एक ढिक्का भएर उन्नती गर्ने बेला हो प्रधानमन्त्री कोईरालाले बताए । आज वीरगंजमा नेपाली काग्रेस नगर समितिले आयोजना गरेको पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले अशान्ति मच्चाई रहे मुलुक फेरी द्वन्द्वमा जाने र त्यसपछि मुलुक कहिल्यै अघि नबढ्ने र नेपालीहरु गरीबको गरीब नै रहने धारणा व्यक्त गरे ।
शान्तिबिना कुनै पनि मुलुकले उन्नति र आर्थिक गर्न नसक्ने ठोकुवा गर्दै प्रधानमन्त्री कोइरालाले हिजोलाई बिर्सेर वर्तमानमा बाँच्न आग्रह गरे । उहाले विश्व जगतलाई विश्सास दिलाउदै नेपाल पनि उन्नतीको शिखरमा पुग्न सक्छ भन्ने देखाउनु पर्ने बताउदै यसका लागि पारदर्शिता, जिम्मेदारी, मितव्ययिता र भ्रष्टाचार अन्त्य गर्नु आवश्यक रहेको बताए । करीब १ सय बर्ष देखि मुलुकबासी लोकतन्त्र, प्रजातन्त्र र संविधानको लागि संघर्षरत रहेता पनि त्यो पाउन नसकेको स्मरण गर्दै उनले अब पनि संविधान बनाउन सबै नेपाली एक हुन नसके यो अवसर कहिल्यै नआउने बताए । प्रधानमन्त्री कोईरालाले सम्पदै सम्पदाको धनी मुलुकमा जलविद्युत, पर्यटन, कृषि, जडीबुटी जस्ता प्रकृतिको उपहार सदुपयोग गर्न नसक्नु दुर्भाग्य रहेको बताए ।
यसअघि वीरगंजको छपकैंयामा निर्माण गरिएको पूर्व प्रधानमन्त्री कोइरालाको पूर्ण कदको शालिकको प्रधानमन्त्री शुशिल कोइरालाले अनावरण गरेका थिए । नेपाली काग्रेस वीरगंज नगर कार्य समितिले वीरगंज उपमहानगरपालिकाको कार्यालयको सहयोगमा यो शालिक निर्माण गरेको हो ।












