१८ असार, काठमाडौं । सवारी चालक अनुमति पत्र लिन अब धेरै समय कुर्नु नपर्ने र सहज ढंगल छोटो समयमा नै अनुमति पत्र पाइने भएको छ । यातायात व्यवस्था कार्यालयले छिटोभन्दा छिटो चारपाङग्रे सवारी साधनको लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाएकोले लाइसेन्स लिन सहज हुने भएको हो। लिखित र ट्रायल परीक्षा पास भएको रसिद लिएको १ घन्टामा नै लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाएको यातायत विभागका निर्देशक मधुसुदन बुर्लाकोटीले जानकारी दिए।
‘लिखित र ट्रायल परीक्ष पास भएपछि हामीले तोकेको दिन बोलाउँछौ’ बुर्लाकोटीले भने – ‘सो दिन रसिद लिएको १ घन्टाभित्र लाइसेन्स वितरण गछौं । विभागले वुधबारदेखि चारपाङग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल र लिखित परीक्षा सुरु गरेको छ ।’
सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा ट्रायल पुनः सुरु भएको हो । वैशाख १० गतेदेखि चारपाङग्रे सवारी साधनको लाइसेन्स वितरण हुन सकेको थिएन । यात्रुहरुको सुविधालाई ध्यानमा १ घन्टाभित्रै लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइएको बुर्लाकोटीले बताए ।
भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा रोकिएको थियो ।
कार्यालयले लिखित परीक्षा सम्पन्न हुनासाथ तत्काल नतिजा प्रकाशनको व्यवस्था मिलाएको छ । सो कार्यालयमा सेवाग्राहीको समस्या छिटो छरितो रुपमा समाधान गर्न सहयोगी कक्ष तथा गुनासो सुन्ने बेग्लै अधिकारीको व्यवस्था गरेको छ। अहिले चारपाङग्रेको काठमाडौंसहित लहान,पोखरा,झापा, बुटवल, भेरी,सेती,महाकालीमा खुलेको छ ।
कार्यालय प्रमुख बस्नेतका अनुसार भूकम्प अगाडि मोटरसाइकल, चार पाङ्ग्रे गरी नयाँ ५०० तथा पुरानो ५०० को नवीकरण गरी दैनिक एक हजारलाई अनुमतिपत्र उपलब्ध गराइँदै आएकामा अहिले सो सङ्ख्या घटेर नयाँ तथा पुरानो दुबैको दैनिक ४०० अनुमतिपत्र मात्रै जारी हुने गरेको छ ।
त्यसैगरी ट्रक तथा बसको अनुमतिपत्रका लागि यही असार ३० गतेदेखि दर्ता फाराम खुला गरिने भएको छ । गएको असोजदेखि ट्रक तथा बसका अनुमतिपत्र जारी गर्न बन्द गरिएको थियो ।











