१६ असार, काठमाडौं । सार्वजनिक स्थलमा अश्लील हर्कत तथा यौन दुव्र्यवहार गर्ने कृषि मन्त्रीका कारण लज्जाबोध भएको एमाले नेताहरुले बताएका छन् । एमाले स्थायी कमिटी सदस्य तथा पूर्व संचारमन्त्रीले आफ्नो फेसबुकमा कृषिमन्त्री हरि पराजुलीका कारण लज्जाबोध भएको उल्लेख गरेका छन् । पोखरेलले वुधबार साँझ लेखेको स्टाटस यस्तो छ, ‘सार्वजनिक पदमा हुनेले सामाजिक मर्यादामावस्नु पर्छ । मर्यादा वस्न गाह्रो हुनेले सार्वजनिक पद धारण गर्नु हुदैन । कृषिमन्त्रीज्यू लज्जावोध भो।’
पोखरेलको स्टाटसमा कमेन्ट गर्दै एमाले कार्यकता तथा पत्रकारहरुले एमालेमा यस्ता नालायक धेरै भएको र कारवाही अभियान चलाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
वुधबार देशभर कृषिमन्त्री पराजुलीकै चर्चा भयो । सडक, सदन, चियापसल, सामाजिक संजाल र संचारमाध्यमहरु कृषिमन्त्रीको व्यवहारप्रति केन्द्रित भयो ।
आफ्ना नातेदारलाई मन्त्री बनाएर बदनाम भएको भन्दै उपप्रधानमन्त्री वामदेव गौतमले समेत चिन्ता व्यक्त गरेको स्रोतले जानकारी दिएको छ । राजधानीमा वुधवार सार्वजनिक कार्यक्रममा उपस्थित भएका गौतमको अनुहार मलिन थियो ।











