१५ असार २०७२ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम आज धान रोपाई कार्यक्रममा सहभागी भएका छन् । गौतम आफै अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघले असार १५ (किसान दिवस) मनाउने सन्दर्भमा आज काठमाडौंको तारकेश्वर नगरपालिका– १५ स्थित धर्मस्थलीमा रोपाई कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा उर्जामन्त्री तथा अखिल नेपाल महिला संघकी उपाध्यक्ष राधा ज्ञवाली, काठमाडौं क्षेत्र नं. ७ का सभासद् रामवीर मानन्धर लगायतको उपस्थिति थियो ।
रोपाई कार्यक्रम प्रारम्भ हुनुअघि कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष वामदेव गौतमले नेपालको कृषि क्रान्ति आधुनिकीकरण तर्फ जानु अनिवार्य आवश्यकता भइसकेको बताए । भूकम्पबाट विस्थापित किसान जनतालाई पुनर्स्थापनाको थालनी एमालेले गर्ने आश्वासन समेत गौतमले दिए ।
अहिले पनि अखिल नेपाल किसान महासंघले भूकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लाका किसान जनतालाई वीऊ वितरण, घर–टहरा निर्माणको काम गरिरहेको तर, यो पहल पर्याप्त नभएको भन्दै उनले पर्याप्त पहलका लागि एमाले नेतृत्वमा सरकार गठन भएपछि हुने दावी गरे । उनले भने- ‘हाम्रो नेतृत्वबाट देशमा विकास भइरहेको दलाल पूँजीवादको अन्त्य र श्रमिक जनताको अधिनायकत्व स्थापित हुने, उत्पादनमा श्रमिक जनताको स्वामित्व स्थापित हुने कार्य हुन्छ ।’