१५ असार, काठमाडौं । संविधानसभा नियमावली निलम्बन गरेर द्रुत मार्गबाट संविधान जारी गर्ने पूर्वसहमतिविपरीत प्रमुख चार दलभित्रैबाट शब्दहरूमा थपघट हुन थालेपछि संविधानको मस्यौदामा फेरि किचलो सुरु भएको छ। सोह्र बुँदे सहमतिविपरीत गएर मस्यौदामा शब्दावली परिवर्तन गरेको आरोप एमाओवादीले लगाएको छ । कांग्रेस महामन्त्री कृष्ण सिटौनाको नेतृत्वमा रहेको मस्यौदा समितिमा आइतबार नै प्रारम्भिक मस्यौदा पारित भएको थियो । पारित भएको मस्यौदामै बेइमानी भएको एमाओवादीले जनाएको छ ।
मस्यौदामा दलहरूबीच उत्पन्न किचलो सोमबार मध्यरातसम्म पनि साम्य हुन नसकेपछि राति पौने एक बजे बसेको संविधानसभा बैठकमा मस्यौदा प्रस्तुत हुन सकेन।
दलहरूबीच मौलिक अधिकार, नागरिकताको अधिकार, राज्यका निर्देशक सिद्धान्त, महिलाको अधिकार, विशेष संरचनाजस्ता विषयमै विवाद देखिएपछि संविधान निर्माणमा किचलो देखिएको छ। बहुलबाद कि बहुदलीय व्यवस्था, धर्म निरपेक्षता कि धार्मिक स्वतन्त्रता भन्ने विषय शब्दावलीमा समेत दलहरुबीच विवाद भएको स्रोतले जनाएको छ ।
दलहरूबीचको छलफल कुनै टुंगोमा पुग्न नसकेपछि पौन एक बजे बसेको संविधानसभा बैठक दिवंगत सभासद् पद्मसुन्दर लावतीको शोकप्रस्ताव पारित गरेर टुंगिएको थियो।
संविधानसभाको अर्को बैठक मंगलबार दुई बजे बस्ने तय भएको छ। मंगलबार तीन बजे व्यवस्थापिका संसदको बैठक पनि तय गरिएको छ। आजबाट सुरु हुने अधिवेशन बजेट अधिवेशन हो ।
संविधानको मस्यौदामा कांग्रेसले आफूहरूलाई ‘चिटिङ’ गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाओवादीका सभासद्ले हस्ताक्षर गर्न अस्वीकार गरेपछि दलहरूबीचको विवादले मस्यौदा निर्माणमा किचलो आएको हो।
संविधानसभा भवन बानेश्वरमा संविधानसभाको बैठक स्थगन गरेर शीर्ष नेताहरू चार घन्टा छलफलमा जुटे पनि सहमतिमा पुग्न नसकेपछि संविधानसभामा मस्यौदा पेस हुन सकेन।
अघिल्लो दिन सहमति भएका विषयमा पनि कांग्रेस, एमाले र एमाओवादीबीचमा भाषा र शब्दावलीमा विवाद भएपछि दुईपटक सारेर राति नौ बजेका लागि बोलाइएको संविधानसभाको बैठक मध्यरातपछि बसेको हो।











