१४ असार, बझाङ । बझाङको काडा गाविसमा पर्ने हिमालबाट यार्सागुम्बा टिपेर घर फर्किरहेका बझाङकै कैलाश गाविसका चारजना सेती नदीमा खसेर वेपत्ता भएका छन् ।
क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार आइतबार दिनभरी यार्सा टिपेर साँझ कैलाश गाविसस्थित घर फर्किरहेका उनीहरु फड्केबाट नदीमा खसेर वेपत्ता भएका हुन् ।
कैलाश गाविस–१ का २५ वर्षीय महेश सिंह, वडा नं. ४ का २८ वर्षीय सुवन सिंह, वडा नं. ६ का ४० वर्षीय डम्बर बहादुर सिंह र वडा नंं. १ का ४० वर्षीय सुन्ते शाही सेती नदीको साँघु तर्ने क्रममा काँडा गाविस–७ को श्यामवन र चाल्ना वनबीचको सेती नदीमा खसेर बेपत्ता भएका हुन ।
पानीको सतह धेरै भएको सेतीको फड्केबाट साँझमा तर्ने क्रममा चारै जनालाई नदीले बगाएको हो । उनीहरु वेपत्ता भएको खबर सोमबार विहान ८ बजेमात्रै प्रहरीलाई गरिएको सुदूरपश्चिम क्षेत्रका डिआईजी रामप्रसाद खनालले जानकारी दिए ।
चारजना बेपत्ता भएको खबर धुली प्रहरी चौकीमा पुगेपछि त्यहाँबाट प्रहरी घटनास्थलतिर पठाइसकिएको डिआईजी खनालले जानकारी दिए ।
काँडा गाविस जिल्ला सदरमुकामदेखि तीन दिनको पैदल दुरीमा पर्छ भने । काँडा गाविसमा रहेको धुली प्रहरी चौकीबाट पनि घटनास्थल पुग्न १२ घण्टा पैदल हिँड्नुपर्छ ।











