१४ असार, काठमाडौं । जननेता मदन भण्डारी अहिलेसम्म बाँचेका भए कति वर्षका हुन्थे । एमालेका जिम्मेवार नेता भन्छन् उनी भर्खर ४३ वर्षका हुन्थे । के त्यसो भए दासढुङ्गामा २१ वर्षपहिले मदनको ‘हत्या’ हुँदा उनी तेइस वर्षका मात्रै थिए त ?
नेपाली कम्युनिस्ट आन्दोलनका एक प्रखर नेता मदन भण्डारी अहिलेसम्म जिवित नै रहेका भए उनी अहिले ६३ वर्ष पुगेका हुने थिए । आज मदन भण्डारी ६३ वर्ष पूरा गरेर ६४ औं वर्षमा प्रवेश गरेका हुने थिए । यद्यपि जननेता भण्डारी दिवंगत नै भए पनि उनको ६४ औं जन्मजयन्ती आज मनाइँदैछ । तर एमालेका एक नेता तथा पूर्व संचारमन्त्री शंकर पोखरेलले आज मदन भण्डारीको ४३ औं जन्मदिन भएको बताएका छन् । नेता पोखरेलले आफ्नो फेसबुकमा मदन भण्डारीको जन्मजयन्ती बारे यस्तो लेखेका छन् – ‘जननेता मदन भण्डारीको ४३ औ जन्मजयन्तीका अवसरमा जवजको मार्ग दर्शनमा नेपाली समाजको आर्थिक सामाजिक विकास र रुपन्तरणको कामलाई योजनावद्ध रुपमा अघि वढाउने संकल्प गरौ ।’
पोखरेलको यस्तो अभिव्यक्ति सच्याउन खोज्दै शुभेच्छुक तथा कार्यकर्ताहरुले आज ६४ औं जन्मदिन भएको सुझाव दिएका छन् । जिम्मेवार नेताले यसरी हचुवाका भरमा फेसबुक स्टाटस लेख्नुलाई के भन्ने ? गल्ती या लापारवाही ?
मदन जन्मिएका थिए २००९ मा
नेपाली कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता मदन भण्डारीको आज जन्म दिन हो । ताप्लेजुङको ढुङ्गेसाँघु वडा नं. ८ ठोट्नेमा वि.सं. २००९ असार १४ गते शुक्रबार रातिको १२ बजे मदन भण्डारीको जन्म भएको थियो । बुबा देवीप्रसाद र आमा चन्द्रकलाका माहिलो सन्तानका रुपमा मदनको जन्म भएको थियो । मदनको परिवार ताप्लेजुङबाट २०२८ सालमा बसाइँ सरेर मोरङ जिल्लाको दुलारी गाविसको लोचनीमा गएको थियो । मदनले २०२८ सालमा नै १६ वर्षको उमेरमा मोरङबाट नै नागरिकता लिएका थिए ।











