१३ असार, धादिङ । भूकम्पले तहसनहस भएको नेपालमा यतिवेला मात्र भूकम्पपहिले नै सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले धादिङको नौबीसे–१ धार्केस्थित रेडियो राजमार्गको कार्यालयमा भूकम्पबारे २२ सेकेन्डअघि नै थाहा दिने प्रविधिसहितको यन्त्र जडान गरेको हो ।
नास्ट र चिनियाँ विशेषज्ञसहितको टोलीले भूकम्प थाहा दिने करिब २२ लाख मूल्य बराबरको यन्त्र जडान गरेको हो ।
‘भुकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलोपटक ल्याइएको हो’, नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले भने, ‘यसअघि आफ्नै ललितपुरको खुमलटारस्थित हाम्रो कार्यालय र काभ्रेको बनेपामा यो यन्त्र जडान गरेका छौं ।’
धार्के र यस आसपासका क्षेत्रमा आउने भूकम्पको अग्रिम जानकारी दिने यन्त्र जडान गरेर रेडियो राजमार्गलाई साँचो हस्तान्तरण गरिएको नाष्टका सामान्य प्रशासन महाशाखा प्रमुख शिशिरराज कोलाक्षपतीले बताए ।
चीनको इन्स्टिच्युट अफ केयर लाईफ ९आईसिएल०, पिपुल्स रिपब्लिक अफ चाइनाको अनुदानमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन एफएम रेडियोका साथै मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने नास्टका ईन्जिनियर देवकुमार शाहले बताए ।
‘चिनियाँ सहयोगमा ८० वटा सेन्सर जडानको काम सुरु भएको छ । देशभर ३२० वटा सेन्सर आवश्यक छ’, उनले भने, ‘२४० वटा सेन्सर नास्टले नै किनेर जडान गर्छौं ।’
नास्टले यो प्रविधिबाट भूकम्पबारे ६ देखि २२ सेकेण्ड अगाडि नै जानकारी प्राप्त हुने जनाएको छ ।
संचारमाध्ययममा यो यन्त्र जडान गरी भूकम्पको पूर्वसूचना प्रसारण गर्न सकेमा मानवीय क्षति कम गराउन सहयोग पुग्ने भएकाले रेडियोमा जडान गरिएको नास्टले जनाएको छ ।
भूकम्प गइरहने जापान र मेक्सिकोले ७ सेकेन्डदेखि १ मिनेट अगाडि नै ‘अर्ली वार्निङ सिस्टम’ सञ्चालनमा ल्याएका छन् ।











