१३ असार, काठमाडौं । आफूलाई भौतिकवादी बताउने एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आजकल धर्मकर्मतिर लाग्न थालेका छन् । सधैंभर भौतिकवादी व्याख्या मात्र गरिहने डा. भट्टराई ल्यारकाल लामालाई आफ्नो दलबाट सभासद् बनाएपछि बौद्ध सम्प्रदायका अधिकांश कार्यक्रममा सहभागी हुने गरेका हुन् ।
भूकम्पलाई पनि भौतिक व्याख्या गर्ने डा. भट्टराई केही दिनपहिले भूकम्पमा मर्नेहरुका लागि काठमाडौंको बौद्धमा आयोजित प्रार्थनामा सहभागी भएका थिए । सो प्रार्थनाको आयोजना ल्यारकाल लामाकै सक्रियतामा आयोजना गरिएको थियो ।
त्यस्तै भट्टराई आज थानकोटको एउटा बौद्ध गुम्बा तथा विद्यालयको कार्यक्रममा सहभागी भएका छन् । ङयङग्युर मेमोरियल स्कुल नामको उक्त विद्यालय ल्यारकाल लामा समेत संलग्न रहेको संस्था नेपाल बुद्धिस्ट पलयुल सोसाइटीले संचालनमा ल्याएको हो । यही विद्यालयमा राख्ने भनी गोरखाबाट ल्याइएका २१५ बालबालिका हराएका थिए ।
गोरखाको उत्तरी गाउँ ल्हो गाविसबाट भूकम्पपीडित बालबालिकालाई शिक्षा दिने भन्दै सो संस्थाले काठमाडौं ल्याएको तर बालबालिका बेपत्ता भएको केन्द्रीय बालकल्याण समितिले सार्वजनिक गरेको थियो ।
तर बालकल्याण समितिले बेपत्ता भए भनेर दावी गरेका बालबालिका नहराएको सोसोइटीका कोषाध्यक्ष पेम छिरी शेर्पाले नेपाल देश डट कमलाई जानकारी दिए । ल्हो क्षेत्रका सबै बालबालिकाका अभिभावकलाई काठमाडौं ल्याएर समस्या समाधान गरिएको शेर्पाले बताए ।











