१३ असार, काठमाडौं । यतिवेला फेसबुकमा आफ्ना तस्वीरलाई रंगीन बनाउने क्रम बढेको छ । फेसबुकले बनाइदिएको टुलमा क्लिक गर्नेवित्तिकै आफ्नो प्रोफाइल पिक्चरमा विभिन्न रंगका धर्साहरु देखिन्छन् । जसका कारण विभिन्न रंगहरुको पृष्ठभागमा आफ्नो तस्वीर देखिन्छ । रंगीन देखिए पनि एउटा धर्सामा एउटा रंगमात्र भएकोले यो तस्वीर रंगहीन समेत मान्न सकिन्छ । यद्यपि यो प्रविधि फेसबुकका आविष्कारक मार्क जुकरवर्गले नै बनाइदिएका हुन् ।
अमेरिकाको सर्वोच्च अदालतले आफ्ना सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने फैसला गरेको समर्थनमा जुकरवर्गले आफ्नो प्रोफाइल तस्वीर यस्तो बनाएर अरुलाई पनि यस्तो तस्वीर बनाउन सजिलो होस् भनेर टुल बनाइ दिए ।
अमेरिकीहरुले त यस्तो फैसलाको समर्थनमा तस्वीर रंगीन बनाए बनाए तर हामी नेपालीले चाहिं यसो किन गरेका नि ? कि यस्तो तस्वीर बनाउने हामी पनि सबै समलिङ्गी हौं या समलिङ्गी विवाहको पक्षमा छौं ?
फैसलाको समर्थनकै कुरा गर्ने हो भने पनि नेपालको सर्वोच्च अदालतले त २०६४ पुस ६ गते नै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको थियो। अमेरिकाकाका १५ राज्यमा अझै पनि समलिङ्गी विवाहले मान्यता पाएको थिएन । तर नेपालमा भने यो अधिकार पहिले नै स्थापित भएको थियो ।
हामी अन्धभक्त हुँदा त्यसपछाडिको अर्थ र परिणामलाई पनि ध्यान दिने कि ?












