९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा संविधान चाहने र नचाहने पक्षबीच द्वन्द्व चलेको भन्दै संविधान बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । पार्टीको राष्ट्रिय पुननिर्माण अभियान अन्तर्गत एमाले काठमाडौं क्षेत्र नम्बर ३ का स्वयंसेवकहरुले निर्माण गरेको गोकर्णेश्वर नगरपालिका–७ स्थित सुन्ताखान माद्यमिक विद्यालयको अस्थायी टहरा हस्तान्तरण गर्दै ओलीले यस्तो धारणा राखेका हुन् । केही राजनीतिक दलहरु सिमित दलगत स्वार्थका कारण संविधान निर्माणको विपक्षमा उभिएको आरोप लगाँउदै संसदीय दलका नेता समेत रहेका ओलीले देश र जनताका पक्षमा उभिएर आफूहरुले संविधान निर्माण गरिछाड्ने बताए ।
देश महाभूकम्पको विपत्तिमा परेका बेला समेत विभिन्न जातजाती, भाषाभाषी र क्षेत्रका जनताबीच विद्वेष मच्चाएर उनीहरुले जातीय विखण्डन निम्त्याउन खोजेको उनको आरोप थियो । ओलीले भूकम्पको विपत्तिबाट राष्ट्रलाई माथि उठाउन र नवनेपाल निर्माणमा आमनेपाली बीच विखण्डन नभै एकताको आवश्यकता रहेको धारणा ब्यक्त गरे । एमालेका स्वयंसेवकहरुले ८ दिन लगाएर बनाएका ३ वटा अस्थायी पठनपाठन केन्द्र (टिएलसी) विद्यालय ब्यवस्थापनलाई हस्तान्तरण गर्दै ओलीले आफ्नो पार्टी एक्लैले जनताका २५ हजार अस्थायी टहरा र १ हजार विद्यालय भवन बनाएको जानकारी दिए । भूकम्पका बेला जनताका घरघरसम्म पुगेर एमालेले नयाँ नेपाल निर्माणको अभिभारा पूरा गर्न सक्ने सन्देश दिएको ओलीको भनाइ थियो । वालवालिकाको पढ्न पाउने अधिकार कुनै पनि हालतमा कुण्ठित हुन नहुने भन्दै ओलीले क्षतिग्रस्त विद्यालयका स्थायी भवन बनाउन आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।











