९ असार, काठमाडौ । सरकारले विहीबार गर्न लागेको दाता सम्मेलनमा चीनियाँ प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री आउने चर्चा चले पनि अन्ततः दुवै देशका विदेशमन्त्री आउने भएका छन् । उनीहरु लगायत सबै दाता राष्ट्रका पाहुना आजै नेपाल आउँदैछन् । यद्यपि नेपालका दुई छिमेकी चीन र भारतका विदेशमन्त्रीको भ्रमण लिपु लेक विवादका कारण पनि बढी चासोका साथ हेरिएको छ । नेपालको भूमिबारे दुई देशले गरेको सम्झौताबारे सरकारले प्रश्न गर्ने भएको छ ।
सम्मेलनमा भाग लिन चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बुधवार अपरान्ह आ-आफ्नो मुलुकको विशेष विमानबाट आउनेछन् ।
सम्मेलनमा दुई छिमेकी मुलुकमा विदेशमन्त्रीसहित सात मुलुकबाट मन्त्रीस्तरीय सहभागिता रहने निश्चित भएको अर्थमन्त्रालयले जनाएको छ । सम्मेलनमा करिब २ सय ५० जना विदेशी पाहुना सहभागी हुनेछन् ।
मन्त्रालय स्रोतका अनुसार सम्मेलनमा सहभागिताका लागि ७० मुलुकका अन्तर्राष्ट्रिय निकायलाई पत्राचार गरिएको थियो । निम्तो पठाइएकामध्ये ५३ अन्तर्राष्ट्रिय निकायले सम्मेलनमा सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।
बुधबार नै जापानी राज्यमन्त्री मिनोरु क्यूची, बंगलादेशका अर्थमन्त्री अबुल माल अमस्त, नर्वेका अन्तर्राष्ट्रिय विदेशमन्त्री हेक्की होलाम्स काठमाडौ आउनेछन् ।
भुटानका अर्थमन्त्री पोथांका नाम्गे दोर्जे र श्रीलंकाका विपत् ब्यवस्थापन मन्त्री ए एचएम फौजे मंगलबार नै काठमाडौ आइसकेका छन् भने राष्ट्र संघअन्तर्गत अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य, एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघका सहायक महासचिव हालोलिङ सु भने सोमबार नै काठमाडौ आइसकेका छन् ।
प्रमुख देशका विदेशमन्त्रीसँग प्रधानमन्त्री सुशील कोइरालाले आज दिनभर छुट्टाछुट्टै रुपमा वालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रय सम्मेलन’ नाम दिइएको कार्यक्रममा भाग लिन आउने भारतीय विदेशमन्त्री स्वराज तथा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपतिसँग पनि भेट गर्नेछन् ।











