८ असार, काठमाडौं । व्यवस्थापिका संसद् अन्तरगतको सुशासन तथा अनुगमन समितिले नेपालको पुनःनिर्माणका लागि हुन लागेको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नवनिर्माणको ठोस कार्ययोजना लिएर आत्मबलकासाथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले भूकम्पपछिको नवनिर्माणका क्रममा प्रभावित जिल्लाका कतिपय स्थानमा एकीकृत बस्ती बसाउन अब तत्काल गुरुयोजना बनाउन राष्ट्रिय योजना आयोगलाई निर्देशन पनि दिएको छ । पुनःनिर्माण तथा नवनिर्माणका क्षेत्र र समय किटान गरी मुलुकको जोखिमपूर्ण भौगोलिक धरातललाई समेत विचार गरेर शैक्षिक, स्वास्थ्य तथा अरु जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी संयन्त्रलाई एकीकृत बस्ती नजिक सञ्चालन गर्ने गरी गुरुयोजना तयार गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो । पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी अध्यादेश अहिले जारी भइसकेको अबस्थामा संसदमा प्रतिस्थापन विधेयकका रुपमा पेस भएपछि त्यसमा समेट्नुपर्ने विषयवस्तुमाथि व्यापक छलफल गरेर त्यसलाई थप प्रभावकारी र चुस्त बनाउने काममा समितिले सहयोग पु¥याउने निर्णयसमेत गरेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल र मुख्य सचिव लीलामणि पौडेलले अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न लागिएको प्रतिवेदनको तयारी र गठन हुने पुनःनिर्माणसम्बन्धी संयन्त्रका बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।
विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए)बाट पुनःनिर्माण तथा नवनिर्माणका लागि रु छ खर्ब ६९ अर्ब लाग्ने अनुमान गरिएको छ । पुनःनिर्माणको काम ६ वर्षभित्र पूरा गर्ने उदेश्यले सरकारले त्यससम्बन्धी अध्यादेश ल्याएको हो ।











