५ असार, काठमाडौं। पुनःनिर्माण प्राधिकरण बनाउने विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भएपछि प्रमुख चार दलको बैठक निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक दुई दलबीचको विवादका कारण निष्कर्षविहीन भएको हो ।
बैठकमा सत्तारुढ दल कांग्रेसले अध्यादेशमार्फत् तत्कालै पुनःनिर्माण प्राधिकरण गठनको प्रस्ताव गरेको थियो । आगामी बिहीबार हुने दाता सम्मेलनअघि नै अध्यादेशमार्फत् प्राधिकरण बनाउनुपर्ने र प्राधिकरण गठन नभए दातृ निकायको सहयोग नआउने कांग्रेसको भनाइ थियो ।
तर, अर्को सत्तारुढ दल एमालेले संसदबाटै प्राधिकरण बनाउनुपर्ने अडान राखेका कारण चार दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको नेताहरुले बताएका छन् ।
भूकम्पपछि पुनःनिर्माणको काममा सहयोग जुटाउन सरकारले आगामी बिहीबार दाता सम्मेलन आह्वान गरेको छ । दातालाई विश्वासमा लिन सम्मेलनअघि नै अध्यादेशमार्फत् पुनःनिर्माण प्राधिकरण गठन गर्नुपर्ने कांग्रेसको तर्क छ ।
तर, एमालेले ११ गते संसद अधिवेशन भएकाले संसद्बाटै प्राधिकरण गठनको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ । बैठकमा नेपाली कांग्रेसले राखेको प्रस्तावमा एकीकृत माओवादीसमेत सहमत भएको छ ।
शीर्ष नेताहरुबीचको छलफल निष्कर्षमा नपुगेपछि पुनः छलफल गरी टुंग्याउने सहमति नेताहरुबीच भएको छ ।











