४ असार, काठमाडौं । मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आधिकारिक रुपमा बढी अंक ल्याउने विद्यार्थीको नाम सार्वजनिक नगरेको अवस्थामा अहिलेसम्म दीक्षित नै बढी प्रतिशत ल्याउनेमा रहेका छन् ।
शुक्रबार सार्वजनिक भएको एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।
दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।’
दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।
बाबु कृष्णप्रसादले गुरु र अभिभावकको ट्रयाकमा हिंडेकाले छोराले सफलता पाएको बताए ।
विद्यालयका प्रिन्सिपल ध्रुव पोखरेलले ७० जना सहभागी भएकोमा ६४ जनाले डिस्टिङ्सन र बाँकी ६ जना विद्यार्थीले फस्ट डिभिजनमा पास भएको बताए ।
अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।
दीक्षितले पाएको अंक :
अंग्रेजी– ९५
नेपाली– ८६
गणित– ९८
विज्ञान– ९८
सामाजिक शिक्षा– ८३
स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३
अतिरिक्त गणित– ९९
कम्प्युटर विज्ञान– १००
जम्मा– ७५२











